काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल जारी शिक्षक आन्दोलनप्रति प्रतिक्रिया जनाउँदै, आफ्ना जायज माग लिएर वार्तामा आउन शिक्षकहरूलाई आग्रह गरेका छन्। सरकारले गम्भीरताका साथ समस्याको समाधान गर्न चाहेको भन्दै उनले आन्दोलनको सट्टा संवादमार्फत समाधान खोज्न सुझाव दिएका छन्।
सोमबार काठमाडौंमा आयोजित ‘हिमालयन डाइलग’ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “शिक्षकहरू सडकमा छन्, आन्दोलन गरिरहनुभएको छ। तर किन आन्दोलन भइरहेको हो, त्यो मलाई अझै प्रस्ट छैन। म प्रधानमन्त्रीको हैसियतले स्पष्ट रूपमा भन्छु – यदि तपाईंसँग जायज माग छ भने वार्तामा आउनुस्, हामी सम्बोधन गर्न पूर्ण रूपमा तयार छौं।”
प्रधानमन्त्रीले आन्दोलनका कारण शिक्षकहरूलाई सडकमा सुत्नुपर्ने, दुःख पाउनुपर्ने अवस्था आउनु नपर्ने बताए। उनले सरकार शिक्षकहरूको समस्यालाई सम्वेदनशीलताका साथ हेर्ने र समाधान गर्ने पक्षमा रहेको स्पष्ट पारे।
“हामी संवाद गर्न इच्छुक छौं,” उनले भने, “आउनुस्, खुला मनले कुरा गरौं। हामी तपाईका मागहरू यथोचित रूपमा सम्बोधन गर्नेछौं।”
प्रकाशित मिति: २४ चैत्र २०८१, सोमबार
प्रतिक्रिया