काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले लोकतन्त्र (डेमोक्रेसी) बाहेक अन्य कुनै विकल्प कहिल्यै रोज्ने छैन भन्ने कुरामा प्रष्ट सन्देश दिएका छन्।
सोमबार काठमाडौंमा आयोजित ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरको योगदान’ विषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवालीले लोकतन्त्र नेपालको स्थायी मार्ग हो भन्ने धारणा व्यक्त गरे।
उनले भने, “गणतन्त्रको विकल्प अझ परिस्कृत गणतन्त्र नै हो। यहाँ विद्यमान केही कमजोरीहरूलाई औजार बनाएर कसैले देशलाई अन्यत्र मोड्न खोजे त्यो सफल हुने छैन। म हाम्रा प्रिय भारतीय मित्रहरूलाई स्पष्टसँग भन्न चाहन्छु, नेपालले लोकतन्त्र बाहेक कुनै वैकल्पिक मार्ग रोज्ने छैन, र यदि कसैले त्यस दिशामा जबर्जस्ती गर्न खोजे पनि त्यो प्रयास निष्फल हुनेछ।”
ज्ञवालीले लोकतन्त्रभित्रै पनि आलोचना र असहमति व्यक्त गर्न पाउने अधिकार रहेको बताए। तर लोकतान्त्रिक व्यवस्थालाई उल्ट्याउने वा समाप्त गर्ने प्रयत्नलाई भने अस्वीकार्य ठहर गरे। उनले भने, “नेपालले लोकतन्त्रका ३५ वर्षमध्ये २० वर्ष द्वन्द्व र संक्रमणकालमा बितायो। आज हामी जहाँ छौं, त्यो गौरवको विषय हो। तर जनताको असन्तोषलाई उक्साएर लोकतन्त्र बाहिर नेपालको भविष्य खोज्ने प्रयासहरू गलत छन्।”
उनले समस्या समाधानका लागि सबैले मिलेर काम गर्नुपर्ने र साझा उत्तरदायित्वका साथ अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए।
कार्यक्रममा भारतका केही विशिष्ट नेताहरूको समेत उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २४ चैत्र २०८१, सोमबार
प्रतिक्रिया