काठमाडौं — नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी मुलुक भारत नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

सोमबार राजधानीमा आयोजित एक गोष्ठीमा बोल्दै देउवाले भारतले नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थन गरिरहेको भन्ने हल्ला चलिरहेको भए पनि त्यसमा कुनै सत्यता नरहेको दाबी गरे।
“कहिलेकाहीँ यस्तो चर्चा चल्छ—भारतले पूर्वराजालाई उचाल्यो कि भन्ने। भारतमा फेरि राजतन्त्र पुनःस्थापित हुने संकेत हो कि भन्ने आशंका पनि छ। तर म विश्वस्त छु—भारत हाम्रो प्रजातन्त्र र गणतन्त्रको पक्षमा छ,” देउवाले स्पष्ट शब्दमा भने।

‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदान’ शीर्षकमा गणेशमान सिंह फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा देउवाले भारतले नेपालप्रति सदैव सकारात्मक भूमिका खेलेको बताए।

उनी भन्छन्, “भारतका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो नेपालका पत्रपत्रिकामा छापिएपछि केही भ्रम फैलिएको देखियो। तर मलाई जानकारी गराइयो—आदित्यनाथले आफैं नेपाली दूतावास पुगेर त्यसमा आफ्नो कुनै संलग्नता नरहेको प्रस्ट पारे। उहाँले स्पष्ट भन्नुभयो—नेपालमा नेपाली जनताको चाहनाअनुसार शासन प्रणाली चल्नेछ, हामी कुनै किसिमको हस्तक्षेप गर्दैनौं।”

देउवाले भारतसँग नेपालको ऐतिहासिक, सांस्कृतिक र जनस्तरीय सम्बन्ध मजबुत रहेको उल्लेख गर्दै विगतमा भारतले नेपाललाई अनेकौं सहयोग गरेको स्मरण गरे।

साथै उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले चाँडै नै भ्रमणको निम्तो दिने विश्वाससमेत व्यक्त गरे।

“नेपाल–भारतबीच देखिएका समस्या संवाद र वार्ताबाट समाधान गर्न सकिन्छ,” देउवाले जोड दिए।

प्रकाशित मिति: २४ चैत्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com