काठमाडौं । काठमाडौं महानगरपालिका–३१ बानेश्वर बहुमुखी क्याम्पसअघिको वाग्मती नदी क्षेत्रबाट साढे चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।

वाग्मती सफाइ महाअभियानको ४७५औँ हप्ताका अवसरमा आज बानेश्वर बहुमुखी क्याम्पसअघि भएको सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, आयोजना प्रमुख नवराज प्याकुरेल, समितिका सञ्चालक सदस्य दिव्य घिमिरे, काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख सरिता राई, वाग्मती फोहर उन्मूलन उपभोक्ता समिति, सिभिल क्यापिटल मर्चेन्ट लिमिटेड, स्थानीयवासी, आलोकनगर समुदाय, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी एवं वाग्मती सफाइ अभियानकर्मीको सक्रियता थियो।

सफाइ कार्यक्रमसँगै त्यस क्षेत्रमा चेतना अभिवृद्धिका लागि घरदैलो कार्यक्रम पनि गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो। आजको सफाइका क्रममा वाग्मती सफाइ अभियानकर्मी आनन्द नेपालीको जन्मदिनको उपलक्ष्यमा वाग्मती नदी किनारमा पीपल, रुद्राक्षको वृक्ष वृक्षरोपण गरिएको थियो।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ। जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन।

महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ। हाल राजधानीमा २५ भन्दाबढी स्थानमा सफाइ भइरहेको छ। काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ। राजधानी बाहिर १०९ भन्दाबढी स्थानमा सफाइ भइरहेको जनाइएको छ।

यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ। ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ।

 

प्रकाशित मिति: ४ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com