काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष अलग हुन सहमत भएका छन् ।

डा. भट्टराईले बुधबार साँझ यादवलाई बोलाएर अलग हुने प्रस्ताव राखेका थिए । वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको भए पनि त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने भट्टराईको प्रस्ताव थियो ।

अध्यक्ष उपेन्द्र यादवसँगको समझदारीमा नै भट्टराई पार्टीबाट अलग हुन लागेका हुन्। त्यसमा यादव पनि सहमत भएको भट्टराई निकट एक केन्द्रीय सदस्यले ग्लोबल नागरिकलाई बताए । उपेन्द्र यादव पक्षका नेताहरुले पनि दुई नेताबीच सहमतिमै अलग हुने सहमति भएको पुष्टि गरे । सिंहदबारमा भएको छलफलमा यादवले आफूले जानुस् भनेर नभन्ने तर अलग्गिने इच्छा छ भने नरोक्ने जवाफ दिएका उनी निकट स्रोतले बतायो ।

सहमतिमा अलग हुँदा केन्द्रीय सदस्य र सांसदहरुलाई कता जाने हो रोज्न दिने भनिएको छ । तर हालको अवस्था हेर्दा यादव पक्षको बहुमत भएकाले जनता समाजवादी पार्टीको आधिकारिकता यादवसँग रहने सम्भावना छ ।

आफूहरुको बहुमत पुग्ने सम्भावना कम भएकाले नयाँ पार्टी दर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको भट्टराई पक्षको एक नेताले बताए। एक केन्द्रीय सदस्य भन्छन्, ‘सायद छिट्टै केन्द्रीय सदस्यहरुको भेला बोलाइन्छ । नेताहरु छलफल गर्दै हुनुहुन्छ। त्यसपछि नयाँ दल दर्ता प्रक्रिया अगाडि बढ्छ’।

प्रकाशित मिति: १६ असार २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com