काठमाडौं । भारतबाट नेपाल घुम्न आएको एक परिवारमाथि काठमाडौं टेकेको पाँच मिनेटमै ठूलो बज्रपात भएको छ।महाराष्ट्रको नागपुर, काम्पीबाट वीरगन्ज हुँदै नेपाल प्रवेश गरेको सात जनाको परिवार आइतबार दिउँसो साढे ११ बजे काठमाडौंको बल्खु आइपुगेको थियो।

वीरगन्जबाट टाटा सुमो चढेर काठमाडौं आएका उनीहरू बल्खुमा ओर्लेको पाँच मिनेटमै दुर्घटनामा परे। परिवारका दुई जना सदस्य ३२ वर्षीया योगिता बन्सुर र उनका पाँच वर्षीय छोरा आयुषलाई बा १३ च ६४१९ नम्बरको भ्यानले ठक्कर दियो।

दुवैलाई नजिकै बयोधा अस्पताल लगियो। उपचार क्रममा आयुषको मृ त्यु भयो। योगिताको बायाँ खुट्टामा चोट लागेको छ। उनी आइसियूमा उपचाररत छिन्। उनीहरू भारतको बोधगयासहित नेपालको लुम्बिनी र काठमाडौं घुम्न बुधबार महाराष्ट्रबाट निस्केका थिए।

‘हामी बहिनी-ज्वाइँ, फूपु-भिनाजु र मेरो परिवारमा छोरासहित सात जना बोधगया, बुद्धको जन्मस्थल लुम्बिनी र काठमाडौं घुम्न आएका थियौं,’ योगिताका ३५ वर्षीय श्रीमान आश्विन बन्सुरले भने, ‘हामी पहिलोपटक घरबाट यति टाढाको यात्रामा निस्केका थियौं।’

महाराष्ट्रबाट उनीहरू पहिला बोधगया गए। त्यहाँबाट रक्सौल हुँदै नेपाल छिरे। उनीहरूले आइतबार बिहानै वीरगन्जबाट काठमाडौं आउने सुमो चढेका थिए।

सुमोले बल्खुको तरकारी बजार जाने बाटोनिर झारिदिएको थियो। काठमाडौं ओर्लेपछि सबभन्दा पहिला होटल खोज्ने उनीहरूको योजना थियो।‘हामीले गाडीबाट सामान झिक्यौं र हिँड्न थाल्यौं,’ आश्विनले भने, ‘योगिताले बाबु बोकेकी थिइन्। गाडीबाट केही पाइला अगाडि बढ्नेबित्तिकै एउटा भ्यान आएर ठक्कर दियो। दुवै आमाछोरा लडे। बाबुलाई गाडीले माथिबाटै किच्यो।’

ओरालो बाटोमा आइरहेको भ्यानले ब्रेक लगाउँदा लगाउँदै पनि नियन्त्रण गर्न नसकेको उनले बताए।आश्विनले रगताम्मे छोरालाई भुइँबाट उठाएर सोधखोज गर्दै बयोधा अस्पतालको आकस्मिक कक्ष पुर्‍याए। उनको पछि पछि ज्वाइँ र भिनाजुले घाइते योगितालाई पनि अस्पताल लगे।

उपचार क्रममा दिउँसै आयुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए। ’भ्यान चालक २२ वर्षीय सुवास खतिवडालाई पक्राउ गरिएको छ,’ उनले भने। आश्विनका अनुसार उनका बुबा बुद्धभक्त थिए। बुबाको भक्ति देख्दै हुर्केकाले आफूमा पनि बुद्धप्रति आस्था जागेको उनी बताउँछन्।

‘बुबाका कारण हाम्रो परिवारमा बुद्धप्रति आस्था थियो,’ उनले भने, ‘त्यसैले बोधगयादेखि बुद्धको जन्मस्थल लुम्बिनीसम्म एकैचोटि दर्शन गर्ने भनेर हामी हिँडेका थियौं।’आइतबार र सोमबार काठमाडौं घुमेर लुम्बिनी जाने योजनामा रहेका आश्विन र उनको परिवार सबै जना यति बेला बयोधा अस्पतालमा छन्। उनीहरूका झोला र सुटकेससमेत अस्पतालको आकस्मिक कक्षबाहिर छरपस्ट देखिन्छन्।

आश्विन र योगिताको बिहे गरेको १६ वर्ष भयो। उनीहरूको एक छोरी छन् जो आयुषकी दिदी हुन्।आश्विनका अनुसार आयुष साइकल चलाउन धेरै मन पराउँथे। मोबाइलमा कार्टुन पनि उत्तिकै हेर्थे।‘मोबाइल एकदमै राम्ररी चलाउँथ्यो। एदेखि जेडसम्म सर्रर भन्थ्यो,’ उनले छोरा सम्झँदै भने, ‘उसलाई युकेजीमा भर्ना गरेर हामी नेपाल घुम्न आएका थियौं।’

नेपालबाट फर्केपछि छोरालाई स्कुल पठाउने आश्विनको सपना सपनामै सीमित भएको छ। –सेतोपाटी

प्रकाशित मिति: २० असार २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com