काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको छलफलमा हात हालाहाल भएको छ ।

आइतबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा बसेको महिला संगठनको अनौपचारिक वैठकमा अध्यक्ष अञ्जना रावल पक्ष र कुमारी तामाङ पक्षका महिलाहरुबीच कुटाकुट भएको हो ।

राप्रपाले महिला संगठनमा अध्यक्ष मात्र नियुक्त गरेको छ भने कार्यसमिति पनि बनेको छैन । राप्रपाको महिला संगठनले महिला हिंसा न्युनीकरणका लागि दबाव दिँदै असार २७ गते गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

ज्ञापन पत्रको तयारीका लागि छलफल गर्न अध्यक्ष रावलले अनौपचारिक बैठक बोलाएकी थिइन् । तर बैठकको सुरुमै नेता कुमारी तामाङले माइक खोसेर बोल्न थालेको र विषय भन्दा बाहिरको मुद्दा झिकेर विवाद गरेको रावल बताउँछिन् ।

राप्रपाको महिला संगठनमा म एक्लै छु, तर ज्ञापन पत्र बुझाउने कार्यक्रम भएकाले औपचारिक वैठक राखेको थिएँ, तर सुरुमै कुमारी तामाङले माइक खोसेर बैठक लिड गर्नुभयो, मैले त बोल्न पनि पाइन’ रावलले भनिन्, ‘अनि कुमारी तामाङ पक्षकै एक जनाले अर्को एक जनालाई हातपात गरेपछि विवाद भएको हो ।’

राप्रपा महिला संघको अध्यक्षमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अगाडि मात्रै अञ्जना शाह रावललाई नियुक्त गरेका थिए । शाह अध्यक्षमा नियुक्त भएपछि आज बसेको पहिलो बैठकमा असन्तुष्ट पक्ष कुमारी तामाङलगायतको समुहले विरोध गरेका हुन् । उनीहरुले पार्टी बाहिरको मान्छेलाई ल्याएर अध्यक्ष बनाएको भन्दै विरोध जनाएका थिए ।

बैठकमा विवाद भएपछि दुवै पक्षबीच भनाभन भएको थियो । त्यसपछि हानाहान भएको हाे । हानाहानको क्रममा राप्रपाका​ महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङ लगायतका घाइते भएका छन् । ​घाइते केहीको चावहिलस्थित हेल्पिङ हेन्स हस्पिटलमा उपचार भइरहेको राप्रपाका एक केन्द्रीय सदस्यले ग्लोबल नागरिकलाई जानकारी दिए ।

बैठकमा कुर्सी प्रहार गरिएको छ भने टेबुल तोडफोड गरिएको छ । बैठकमा दुई पक्षबीच झडप भएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन त्यहाँ पुगेका थिए ।

 

प्रकाशित मिति: २६ असार २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com