काठमाडौं । काठमाडौंको फुटपाथ व्यापार नियन्त्रण गर्न मेयर बालेन्द्र साहले बानेश्वरका सडकमा पसल थापेर बसेका फुटपाथ व्यापारीलाई आफैंले भेटेर सम्झाउने प्रयास गरेका छन्।

बेलुकी ६:३० बजेतिर केही सहयोगीसहित साह सडकमा निस्केका हुन् । उनलाई सडकमा देख्नासाथ केही व्यक्तिहरु बालेन बालेन भन्दै हुटिङ गरिरहेका थिए । साह भने व्यापारीलाई सम्झाउन र थर्काउन व्यस्त भए ।

ठेलामा तरकारी बेचिरहेका एक व्यापारीलाई पाखुरामा समात्दै उनी सोध्छन्, ‘यसरी बाटोमा ठेला राख्न पाइयो हजुर ? पसलहरु सबै खाली छन् । पसलमा कसैले भाडा लिदैन । तपाईंहरुले बाटोमा गरेर कमाउनुहुन्छ भने थोरै भाडा तिरेर पसलमा गर्नुस् । एम्बुलेन्स हिँड्छन् तपाईंले रोकिदिनुभयो भने कस्तो हुन्छ ? है सर ।’

बालेन त्यसपछि फुटपाथमा मकै पोलिरहेकी महिलासामु पुग्छन् । उनी प्रश्न गर्छन् ‘यो बाटो कसरी बनेको हजुरलाई थाहा छ ? मान्छेहरुको घर भत्काएर, उहाँहरुलाई रुवाएर बनाएको बाटो हो । हजुरले यसरी हाल्दिन मिल्छ ? थोरै भाडा तिरेर पसलमा राखिदिनुस् न ।’

महिलाले यस्तो काम गर्न सटर भाडामा नपाइने बताउँछिन् ।
बालेन जवाफ दिन्छन्, ‘भाडामा गर्न मिल्छ । पसल भाडामा लिएर राखिस्यो । थोरै भाडा तिर्नुपर्छ । हजुरको व्यापार पनि चल्छ ।’ त्यसपछि उनी महिलालाई सोध्छन्, ‘मासिक कति कमाउनुहुन्छ ?’ महिलाले जवाफ दिन्छिन्, ‘भाडा तिर्ने र खाने मात्रै हो ।’

बालेन सम्झाउँदै भन्छन्, ‘थोरै भाडा तिरेर पसलमा राख्नुस् न । यो बाटोमा एम्बुलेन्स हिँड्छ, गाडी हिँड्छ । यसो नगर्दिनुस् । यति बाटो बनाउन सरकारले एक करोड खर्च गरेको हुन्छ । हामी तपाईंहरुलाई उठाउन आएको होइन, अनुरोध गर्न आएको । (हात जोड्दै) प्लीज..प्लीज…प्लीज यस्तो नगरिदिनुस् ।’

वरिपरीका व्यापारीले फुटपाथ व्यापारलाई महानगरले व्यवस्थित गर्नुपर्ने कुरा गर्न थाल्छन् । त्यसपछि बालेन केही आक्रोशमा आउँछन् ।

अरुतिर हेर्दै भन्छन्, ‘बजार खाली छन् । तपाईंहरु भाडामा नलिने अनि, कसरी व्यवस्थित गरिदिनुपर्छ ?’
त्यसपछि महिलातिर फर्केर भन्छन्, ‘आमा प्लीज.. आमा प्लीज… । सटर भाडामा पाइन्छ । जति पनि पाइन्छ । यो बाटो गाडी हिँड्नलाई होनि त आमा है ।’

 

प्रकाशित मिति: ५ श्रावण २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com