काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठनको तयारी थालेका छन्।

उनले आफूनिकट नेताहरूसँग केही दिनदेखि नयाँ पार्टी गठन गरेर जानेबारे छलफललाई तीव्रता दिएका छन्।

भट्टराई जसपाको संघीय परिषद् अध्यक्ष थिए। उपेन्द्र यादव पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक गरी भट्टराईलाई जसपा संघीय परिषद् अध्यक्षको जिम्मेवारीबाट हटाएका थिए।

यसअघि भट्टराईले पनि काठमाडौंमा जसपा केन्द्रीय समितिको विस्तारित बैठक राखेका थिए।

जसपाबाट अलगिएर भट्टराईले नेपाल समाजवादी पार्टी खोल्न लागेका हुन्। उनीनिकट एक नेताले दिएको जानकारीअनुसार केही दिनभित्र नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ।

भट्टराई आफूसहित तीन जना अध्यक्ष रहने गरी पार्टी गठन गर्ने तयारी गरिरहेका छन्।

उनीनिकट एक पूर्वविद्यार्थी नेता नुवाकोटका दीपक लामिछानेको नाममा समावेशी लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता थियो। उक्त पार्टीको चुनाव चिन्ह खुलेको एकल आँखा छ।

गत फागुनमा उक्त पार्टी निर्वाचन आयोगमा दर्ता भएको बताइएको छ।

भट्टराईको सचिवालयका एक सदस्यका अनुसार केही दिनभित्र नेपाल समाजवादी पार्टी गठन गरी दर्ताका लागि निर्वाचन आयोग जाने तयारी छ।

भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हमा लडेर जितेका थिए।

जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराई सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति गरेका थिए। यादवले भने भट्टराईले पार्टी कब्जा गर्न खोजेकोले संघीय परिषद् अध्यक्षबाट निकालिएको दाबी गर्दै आएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र बनाएर जानेबारे पनि भट्टराईसँग छलफल गर्दै आएका छन्। समाजवादी केन्द्र बनाएर जानेबारे छलफल भइरहँदा भट्टराईले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति: १० श्रावण २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com