ललितपुर । मन्त्रीका लागि भैसेपाटीमा मन्त्रीक्वाटर समयमै सम्पन्न भयो तर त्यही क्षेत्रको जनताले दैनिक आवतजावत गर्ने नख्खु-भैसेपाटी सडकखण्ड ६ बर्ष देखि अलपत्र अबस्थामा छोडिएको छ।

आजभन्दा करिब ६ वर्ष अघि ललितपुरको नख्खु–भैसेपाटी सडक खण्डको काम सुरु गरिएको थियो । तर अहिलेसम्म पनि सडकले नयाँ रुप पाउन सकेको छैन । सडकको दुरावस्थाका कारण स्थानीय लगायत आवतजावत गर्ने आम सर्वसाधारणले विभिन्न समस्या भोगिरहेका छन्।

ठेकेदार कम्पनीले देखावटी काम गर्न भने कहिले पछि नपरेको स्थानीय सावित्री शर्मा बताउँछिन् । समय-समयमा ग्रावेल ल्याउने, सडक छेउमा थुपार्ने र काम गरे जस्तो मात्र गर्ने तर काम भने नगर्ने ठेकेदार कम्पनीको चरम लापरबाहीको कारण स्थानीयले धेरै सास्ती खेप्नुपरेको उनको भनाई छ।

कालोपत्रेको लागि करिब ६ वर्ष अघि नै टेण्डर हात पारेका ठेकेदारहरुको मनपरितन्त्रका कारण सडक छेउछाउमा बसोबास गर्ने तथा उक्त सडकको प्रयोग गर्ने नागरिकहरुको स्वास्थमा समेत गम्भीर असर परेको छ।

करिब ६ वर्ष देखि सडक निर्माणको काम सुरु गरे पनि आजसम्म ६०० मिटर पनि कालोपत्रे सडक भेटाउन मुस्किल छ । ५ वर्ष अघि आफ्नो जीविकोपार्जनका लागि फुलबारी मार्गमा आएर सटर भाडामा लिएर सिरक डस्नाको पसल चलाइरहेका शाहिल सेख भन्छन्, ‘जतन गरेर राखेका सामान समेत दैनिक सडकमा उड्ने धुलोका कारण व्यापार गर्न मुस्किल छ। ठेकेदार कम्पनीले बाटो अलपत्र छोड्दा धुलो र हिलोका कारण यहाँका बासिन्दाले धेरै सास्ती पाएका छन्।’

स्थानिय जनप्रतिनिधिहरु भने असार मसान्तसम्म काम सम्पन्न गरिदिने ठेकेदार कम्पनीले वाचा गरेको बताउँछन् । तर कुन सालको असार मसान्त हो भन्ने कुरामा भने जनप्रतिनिधिहरु मौन देखिन्छन्। यस सडकखण्ड नबन्नुमा स्थानिय जनप्रतिनिधिको समेत ठूलो हात रहेको स्थानियको भनाई छ। स्थानिय जनप्रतिनिधिको समेत ठेकेदार कम्पनी संग मिलेमतो भएका कारण स्थानियले यो अवस्था भोग्नुपरेको स्थानिय बताउँछन्।

ललितपुर महानगरपालिका वडा नं २५ का वडाध्यक्ष दौलत खत्रीका अनुसार सो सडक खण्डको निर्माणको रेखदेख गर्ने व्यक्ति हेम खड्काले गरिरहेको बताउँछन । आफुहरु निर्वाचित भएर आएपछि सम्बन्धित व्यक्तिलाई पटक पटक दवाव दिएको तर अहिले सम्पर्कविहिन भएको भन्दै वडाध्यक्ष पन्छीएका छन् ।

भैसेपाटीमा बनाइएको मन्त्री क्वाटर सडक निर्माणको काम भन्दा पछि सुरु गरिएको थियो । तर मन्त्रीक्वाटरको काम अन्तिम तीन चरणमा पुगिसकेको छ । तर यो सडकको भने पहिलो चरणको काम कहिले सुरु हुने हो टुङ्गो छैन्।

अझै कति दिन यस्तै समस्या झेल्नु पर्ने हो भन्दै आक्रोसित स्थानीयले तत्काल सडक निर्माण नगर्ने हो भने आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। मन्त्रीहरुको लागि काम छिटो हुने तर जनताको लागि किन नहुने ? के यो सडकमा काले पत्रे हुन मन्त्रीहरुको बसाई हुनु पर्ने नै हो त ? भन्ने प्रश्न त्यहाँका स्थानियको रहेको छ।

प्रकाशित मिति: १३ श्रावण २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com