काठमाडौं । नेकपा एमाले सांसद महेश बस्नेतले स्वतन्त्र समूहहरुबाट उदाएका जनप्रतिनिधि तथा नेताहरुमाथि आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

आज सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन, रमेश खरेल आदिका नाममा देशी-विदेशी तत्वहरु सल्बलाउन थालेको आराेप लगाएका हुन् ।

काठमाडौं महानगरका मेयर बालेनले पछिल्लो दिनमा अनधिकृत संरचनाहरुमा डोजर लगाइरहेको घटनाप्रति संकेत गर्दै बस्नेतले आफ्ना कार्यकर्तालाई सकभर मुखले, नत्र हातगोडाले भए पनि सम्झाउन भन्दै उक्साएका हुन् ।

युथफोर्स नामक दस्ता बनाएर एमाले राजनीतिमा चर्चा पाएका बस्नेत अध्यक्ष केपी ओलीका प्रिय पात्र मानिन्छन्। ओली प्रधानमन्त्री रहेका बेला दलफुटाउ अध्यादेश जारी गर्ने बेला उनले पूर्वआइजीपी सर्वेन्द्र खनालको सहयोगमा जसपाका सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा मधेशबाट रातारात काठमाडौं ल्याई होटलमा राखेका थिए।

बस्नेतले बालेन लक्षित गर्दै आगो बल्न थाल्दा स्याउलाले निभाए पनि आगलागी भएमा पछि के गर्ने भन्दै युवालाई प्रश्न गरेका थिए । बस्नेतले भने, ‘सकभर मुखले सम्झाउनुस्, सम्झेनन् भने हातगोडा जेले भए पनि सम्झाउनुस् । परेको पार्टीले बेहोर्छ ।’

 

प्रकाशित मिति: १४ भाद्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com