काठमाडौं । १७ वर्षीया नाबालिग बलात्कार आरोपीत क्रिकेटर सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको सात दिन भइसकेको छ।

गत बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। पुर्जी जारी गर्नेबित्तिकै प्रहरीले लामिछानेलाई जहाँ भेट्यो त्यही पक्राउ गर्न सकिने बताएको थियो।

सात दिन बितिसक्दा पनि लामिछाने पक्राउ परेका छैनन्। उनी अहिलेसम्म पनि पक्राउ नपरेपछि उनी कहाँ गए भन्ने चासो व्यक्त भइरहेको छ। सामाजिक सञ्जालमा उनी भागिसकेका त होइनन् भन्ने प्रश्न पनि उठ्न थालेको छ। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका उनी घटना भएको भोलिपल्टै केन्या पुगेका थिए। भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पुर्‍याएर पटक-पटक बलात्कार गरेको आरोप उनीमाथि छ।

भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।

उक्त लिग भइरहँदा यता काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। उनी कहिले र कसरी फर्किन्छन् भन्नेबारे प्रहरीलाई कुनै सूचना छैन।

वेष्ट इन्डिजबाट फर्केर उनी दुबईमा आइपुगेको हुनसक्ने प्रहरीको अनुमान छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले भने लामिछाने केही दिनअघि नै नेपाल आउन लागेका थिए। तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट रद्द समेत गरेको स्रोतले बताएको छ।

‘फ्लाइट बुक गरेको त रहेछ। पछि किन हो रद्द गरे। पछाडिको मितिमा सारेको देखिन्छ,’ स्रोतले भन्यो। अहिले उनी कसैको सम्पर्कमा छैनन्।

 

 

प्रकाशित मिति: २९ भाद्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com