काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बहुमत दिनु भनेको पुनः संविधान च्यात्नु र राजतन्त्र ल्याउनु जस्तै भएको टिप्पणी गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका-६, नयाँसाँघुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

अहिले पनि राजतन्त्रकै पुनर्स्थापना गर्नुपर्‍यो भन्ने दलसँग तालमेल गरेर मुलुकको एकतालाई कमजोर पार्न चाहने तत्त्वहरूसँग फेरि संविधान मिच्ने दुस्साहस भइरहेको उनको भनाई छ । ‘मैले जनतासँग भन्ने गरेको छु । अरू गठबन्धनका नेताहरूलाई छोड्नुपर्ने हुन्छ । उहाँहरू भन्नुहुन्छ, खासगरी केपी ओली जी’ले के भन्नुहुन्छ भने हामीलाई फेरि बहुमत चाहियो भन्नुहुन्छ । ०७२ मा जनताले बहुमत दिँदा सरकार र पार्टी जोगाउन नसक्नेलाई किन बहुमत दिने भनेर जनताले प्रश्न गर्नुपर्नेछ । तपाईँलाई मत दिनु भनेको छ संविधान च्यात्नुजस्तै हो भनेर प्रश्न गर्नुपर्नेछ,’ प्रचण्डले भने ।

advertisement

गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका प्रचण्डले ७० वर्ष लडेर ल्याएको संविधानको रक्षाका लागि अहिलेको वामलोकतान्त्रिक गठबन्धन बनेको स्पष्ट पारे । ‘यो गठबन्धन हामीले प्राप्त गरेको उपलब्धिको रक्षा गर्नुको साटो भत्काउने कोसिस गरेपछि त्यसको रक्षाका लागि बनेको हो’, अध्यक्ष प्रचण्डले भने, ‘अझै पनि बेलाबेलामा प्रतिगामी, यथास्थितिवादी शक्तिले टाउको उठाउने प्रयास गरिरहेका छन् ।’

अहिले सबैको ध्यान गोरखा केन्द्रित भएको भन्दै उनले गोरखामा सरदरभन्दा बढी मतान्तरले जित्नपर्ने चुनौती रहेको बताए । ‘गोरखाबाट सामान्य मतले जितेर पुग्दैन, एभरेजभन्दा बढी मतले जितेर यहाँबाट सिङ्गो देशलाई नै सन्देश दिनेपर्ने छ,’ उनले भने ।

आगामी ४ मंसिरमा जनमत सङ्ग्रह हुँदै गरेको उनको भनाई छ । ‘मंसिर ४ गते जनमत सङ्ग्रह हुँदैछ । एकथरी मान्छेहरू राजतन्त्र ल्याउनपर्छ भन्नेहरू पनि छन्,’ प्रचण्डले भने, ‘मंसिर ४ गते एकातिरबाट राष्ट्र, शान्ति, विकास र समृद्धिलाई नेतृत्व गर्न चाहने गठबन्धन छ भने अर्कोतिर देशलाई अँध्यारो सुरुङतिर लान चाहने शक्ति लागेको छ ।’

प्रकाशित मिति: २५ कार्तिक २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com