सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताएका छन् ।

जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत आज सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन उनले यस्तो धारणा राखेका छन् ।

advertisement

उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन सम्भव भएको र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको र माओवादी रहँदासम्म मुस्लिम लगायत उत्पीडित समुदायले पाएको अधिकार कसैले खोस्न नसक्ने बताए।

 

माओवादी आन्दोलनका कारण उत्पीडित उपेक्षित समुदाय बलियो भएकाले आफ्नो अधिकारलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने अवस्था बनाउन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।

अन्य दलहरुलाई अहिले जनताले पाएको अधिकार बढी लागेको र कुनै न कुनै बहानामा खोस्न चाहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको अधिकार विरुद्ध हुने कुनै पनि खाले षड्यन्त्रलाई विफल पार्न आफ्नो पार्टी जनताकै तागत लिएर अघि बढ्ने बताए ।

उनले सीमा क्षेत्रका समस्या लगेर सिंहदरवारमा घन्काउन जनतासँग माओवादी, तराई मधेस जागरण अभियान थालिएको जानकारी दिँदै यो अभियानले दक्षिण नेपालका समस्या राष्ट्रिय समस्याको रूपमा अघि बढाउने बताए ।

हरिनगर ६ को मुस्लिम बस्तीमा भएको कार्यक्रममा मुस्लिम अगुवाहरूले अध्यक्ष प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले सीमा क्षेत्रका समस्या र मुस्लिम समुदायका आवाजप्रति गम्भीर हुन आग्रह गर्दै बेलाबेलामा हुने साम्प्रदायिक हिंसाप्रति राज्य संवेदनशील हुनुपर्ने बताए।

प्रकाशित मिति: १५ फाल्गुन २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com