काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनविरुद्ध बैंकिङ सम्पत्तिमा हानीनोक्सानी पुर्याइ अनियमितता गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेको छ।

उक्त उजुरीमा शेरचनले बैंकिङ सम्पत्तिको अनधिकृत प्रयोग तथा अपचलन गरी बैंकलाई आर्थिक नोक्सान पुर्याएको आरोप छ। सीआईबीमा गत चैत १ गते दर्ता गरिएको उक्त उजुरीमा शेरचनलाई पक्राउ गरी आवश्यक छानबिन तथा कानूनी कारबाहीको माग गरिएको छ। साथै, बैंकबाट हिनामिना भएको सम्पत्ति साँवा, ब्याजसहित फिर्ता गराउन अनुरोध गरिएको छ।

advertisement

उजुरी अनुसार, शेरचनले अर्बिट कन्सल्टेन्सीसँग मिलेमतो गरी प्रभु बैंकको कमलादी शाखामा बैकिङ सम्पतिको अनाधिकृत ढंगबाट परिचालन तथा अपचलन गरी विद्यार्थीहरूका शैक्षिक कर्जा तथा स्वदेश–विदेशमा बुझाउनु पर्ने शुल्क भुक्तानी गर्दा बैंकको रकमलाई अर्बिट कन्सल्टेन्सीको नाममा बुक गरी बैंकको आम्दानी हिनामिना गरेको दाबी गरिएको छ।

त्यसैगरी, गुण ग्रुपको नाममा रहेको गुण सिनेमाको नाममा दिएको ७६ करोड ६६ लाख कर्जा र सुगत ईन्भेष्टमेण्ट प्रा.लि.लाई दिएको १ अर्ब ५० करोड कर्जा बर्षौ भई सक्दापनि साँवा ब्याज नआएको र सोको कर्जा उठाउने तर्फ तदारुक्ता नदेखाएको पनि उजुरीमा उल्लेख छ । साथै गुण सिनेमाका मालिक राजेन्द्र शाक्यसँग मिलेमतो गरी बैंकबाट बिभिन्न शिर्षकमा कर्जा दिएको देखाई आफू समेतको संलग्नतामा बैंकको सम्पतिमा हानीनोक्सानी पुर्याएको आरोप उजुरीमा छ ।

कानूनी कारबाहीको माग

शेरचनले बैंकिङ अपराध गरेको भन्दै उजुरीकर्ताले उनलाई तत्काल पक्राउ गरी विस्तृत छानबिन गर्न आग्रह गरेका छन्। साथै, बैंकबाट हिनामिना भएको सम्पत्ति ब्याजसहित फिर्ता गराइ बैंकलाई आर्थिक क्षति हुन नदिन आवश्यक कानूनी प्रक्रिया अघि बढाउन माग गरिएको छ।

बैंकिङ क्षेत्रमा चर्चा

शेरचनविरुद्ध परेको उजुरीले बैंकिङ क्षेत्रमा चर्चा पाएको छ। यस घटनाले बैंकिङ क्षेत्रमा पारदर्शिता र सुशासनका सम्बन्धमा गम्भीर प्रश्न उठाएको छ। अब सीआईबीले गर्ने अनुसन्धानले यो प्रकरणमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १२ चैत्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com