काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी आन्दोलनले मुलुकलाई विखण्डनको दिशामा डोर्याएको आरोप लगाएका छन्। आइतबार कास्कीको रूपा गाउँपालिकामा आयोजित दोस्रो पालिका सम्मेलनलाई सम्बोधन गर्दै उनले जात र लिङ्गका नाममा समाजमा द्वन्द्व फैलाउने काम माओवादीले गरेको दाबी गरे।

‘हिजोसम्म दाजुभाइझैँ मिलेर बसेका नेपालीहरू माओवादीको नारा र उक्साहटले आपसमा खण्डित भए,’ थापाले भने, ‘देशलाई विखण्डनको मोडमा लैजान माओवादीले भूमिका खेल्यो।’

advertisement

उनका अनुसार त्यसबेला नेपाली कांग्रेसले जिम्मेवार शक्ति भएर माओवादीको अतिवादी प्रवृत्तिलाई थाम्न भूमिका खेलेको थियो। उनले भने, ‘त्यसवेला माओवादी पूर्णरूपमा उत्तेजनामा थियो, कांग्रेसले त्यो उत्तेजनालाई नियन्त्रणमा लियो। चुनावमा दुई ठाउँबाट पराजित भएका माधव नेपाललाई अगाडि ल्याएर पनि हामीले त्यो संकट व्यवस्थापन गरेका थियौं।’

संविधान जारी भइसकेपछि पनि मधेसवादी दलहरू चुनावमा सहभागी हुन नआएको सन्दर्भ उल्लेख गर्दै थापाले कांग्रेसले प्रत्येक संकटको घडीमा समाधान निकाल्ने नेतृत्वदायी भूमिका खेलेकाले मुलुकलाई सही मार्गमा ल्याउन सकेको बताए।

‘कांग्रेस सधैं चुनाव वा नतिजाभन्दा माथिको शक्ति हो,’ उनले जोड दिए, ‘जन्मदेखि नै कांग्रेस नेपालको मूल, प्रमुख र एक मात्र राष्ट्रिय शक्ति हो। राज्यलाई आएका जटिल समस्याहरू कांग्रेसले नजिकबाट बुझ्छ, सङ्कल्प गर्छ र समाधान दिन सक्छ।’

उनले कांग्रेसको जिम्मेवारी र इतिहासले मुलुकको एकता, शान्ति र स्थायित्वमा सधैं सकारात्मक भूमिका खेलेको दाबी गरे।

प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com