काठमाडौं । हुम्लामा गएको बाढीको जानकारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनपछि मात्रै पाएको खुलेको छ। ढिलोगरी थाहा पाएको यस घटनाले विपद् व्यवस्थापन प्रणालीको तत्परतामाथि गम्भीर प्रश्न उठाएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. दिनेश भट्ट स्वयं हुम्लाको बाढीबारे जानकारी नभएको पुष्टिसँगै, आपतकालीन सूचना संकलन, तयारी र समन्वय क्षमताको प्रभावकारितामाथि आलोचना भएको छ।
स्थानीय बासिन्दाहरू आपतकालीन सहयोगको पर्खाइमा हुँदा, प्राधिकरणका उच्चपदस्थ अधिकारीहरू काठमाडौंको एक पाँचतारे होटलमा आयोजित कार्यक्रममा सहभागी थिए।

स्थानीय स्रोतका अनुसार बाढीले घर, खेती तथा यातायात पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। उद्धार तथा राहत वितरणमा देखिएको ढिलाइप्रति स्थानीयवासीहरूले असन्तोष व्यक्त गरेका छन्। उनीहरूले ढिलाइलाई उत्तरदायित्वबाट विमुखताको संज्ञा दिएका छन्।
विपद् व्यवस्थापनको जिम्मेवारीप्रति प्रश्न उठाउँदै विज्ञहरूले विपद् सम्बन्धी सूचनाको ढिलो प्राप्ति र प्रभावकारी समन्वयको अभावलाई गम्भीर कमजोरीका रूपमा व्याख्या गरेका छन्।
विपद् व्यवस्थापनका लागि गठन गरिएको प्राधिकरणको मूल उद्देश्य जोखिमयुक्त क्षेत्रको पहिचान, पूर्वतयारी, राहत सामग्रीको भण्डारण र वितरण प्रणाली सुदृढ गर्नु हो। तर, पछिल्ला घटनाले संस्थाको कार्यदक्षता र प्राथमिकतामाथि नै प्रश्न खडा गरेको छ।
डोटीमा गएको भूकम्पको विस्तृत क्षति मूल्यांकन २.५ वर्षपछि मात्र सम्पन्न हुनु, तथा जाजरकोट र रोशी खोलाजस्ता घटनामा प्रभावकारी उपस्थिति देखिनु नसक्नु प्राधिकरणकै कमजोरी भएको विज्ञहरूको भनाइ छ।
सरकारले मूल्यांकन गर्न सक्छ, तर प्रभावित जनताको भोगाइ र पीडाको मूल्य कसले गर्छ भन्ने प्रश्न उठेको छ।
प्राधिकरणले हुम्लामा जेठ १ गते आएको बाढीको जानकारी चार दिनपछि मात्रै पाएको जनाएको छ। यस्तो स्थितिमा भविष्यमा आउन सक्ने विपद्का लागि प्रभावकारी योजना र समयमै हस्तक्षेप गर्न प्राधिकरण सक्षम छ भनेर विश्वास गर्न जनताले कठिन मान्ने देखिन्छ।
काम कति भयो भन्ने प्रश्नको उत्तर प्रायः प्रक्रियामै छू भन्ने सुनिन्छ। तर स्थानीय बासिन्दाहरूका लागि प्रक्रिया भन्दा कार्य महत्वपूर्ण भएको उनीहरूको भनाइ छ।
प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया