काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा कम्युनिष्ट शक्ति एकजुट हुँदा वामपन्थी जनमत बलियोरूपमा देखिने दाबी गरेका छन्।

नेसपा (गंगानारायण श्रेष्ठ पक्ष)सँग पार्टी एकीकरणको औपचारिक घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले वामपन्थी ध्रुवीकरणका लागि नयाँ आधार तयार भएको बताएका हुन्। उनले यसअघि २०७४ सालमा एमालेसँग गरिएको एकता र त्यसबाट बनेको नेकपाको स्मरण गर्दै, त्यो प्रयास नेपालमा समाजवादी यात्रातर्फको सार्थक थालनी भएको बताए।

advertisement

दाहालले भने, “सरकारको नेतृत्वबाटै समाजवादी आन्दोलनको सुरुआत गर्न सकिन्छ भन्ने विश्वासका साथ मैले एमालेसँग सहकार्य गर्दै संयुक्त चुनाव लड्ने र अन्ततः पार्टी एकता गर्ने प्रस्ताव गरेको थिएँ। त्यो प्रस्ताव कुनै अवसरवाद होइन, बरु नेपाली समाजलाई मौलिक समाजवादतर्फ लैजाने सैद्धान्तिक प्रयत्न थियो। त्यसैले अहिले पनि म त्यसलाई गलत मान्दिन, त्यो निर्णय सही नै थियो।”

उनले त्यतिबेला जनताको व्यापक समर्थन प्राप्त गर्दै कम्युनिष्ट शक्ति दुई तिहाइको नजिक पुगिसकेको अवस्थामा पनि त्यो प्रयास सफल हुन नदिइएको उल्लेख गरे।

“जब त्यो प्रयास सफल हुँदै थियो, त्यतिबेला भित्रैबाट गुटबन्दी सुरू भयो,” उनले भने, “पार्टी एकतालाई विफल पार्ने प्रयत्न मात्र नभएर त्यसमा देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूको समेत संलग्नता थियो। त्यसैले हामीलाई त्यो अभियान पूरा गर्न दिइएन।”

अध्यक्ष दाहालले अहिले फेरि वामपन्थी शक्ति एकजुट गर्ने नयाँ प्रयास आरम्भ गरिएको जनाउँदै यसलाई सशक्त समाजवादी ध्रुवीकरणतर्फको नयाँ सुरुआतको रूपमा व्याख्या गरे।

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com