काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधान र संघीयता विरोधी कुनै पनि प्रयास सफल नहुने स्पष्ट पारेका छन्। गोरखाको शहिद लखन गाउँपालिकामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले सबै वर्ग र समुदायको पहिचान समेटिएको संविधान बनेको उल्लेख गर्दै त्यसको रक्षा गर्न सबैले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
अध्यक्ष प्रचण्डले जनताको समस्या समाधान, सुशासन, सामाजिक न्याय र आर्थिक विकासलाई अबको मुख्य एजेन्डा बनाउनुपर्नेमा जोड दिँदै भने, “संविधान र वर्तमान व्यवस्था विरोधीहरू सफल हुने सम्भावना छैन। तर हामीले जनताका पक्षमा प्रत्यक्ष रूपमा सकारात्मक परिणाम दिन सक्यौं भने ती प्रवृत्तिहरू आफैं समाप्त हुन्छन्। यद्यपि, सतर्कता भने आवश्यक छ।”
नेपालमा केही छैन, केही हुँदैन भन्ने नकारात्मक मानसिकता फैलिँदै गएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले देशका स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गरेर स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले युवा वर्गलाई देशमै आशाको उज्यालो देखेर अघि बढ्न आह्वान गर्दै भने, “नेपाल सम्भावनाले भरिपूर्ण राष्ट्र हो। निराश होइन, आशाको भावनासाथ अगाडि बढ्नु पर्छ।”
बूढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धमा कुरा गर्दै प्रचण्डले उक्त आयोजनाको सफल कार्यान्वयनका लागि राजनीतिक सहमति अपरिहार्य रहेको उल्लेख गरे। उनले आफ्नो प्रधानमन्त्रीत्वको अवधिमा आयोजनाको मोडालिटीका विषयमा पहल भए पनि त्यसपछि त्यो विषयमा ठोस छलफल नभएको बताए।
गोरखाको विकासप्रति निरन्तर ध्यान दिँदै आएको उल्लेख गर्दै प्रचण्डले संघीयता कार्यान्वयन तथा स्थानीय तहलाई सशक्त बनाउने विषयमा आफू प्रधानमन्त्री हुँदा संघ, प्रदेश र स्थानीय तहबीच पटक–पटक समन्वय बैठक गरी महत्वपूर्ण काम अगाडि बढाइएको बताए। तर केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि ती प्रयासहरू रोकिएको आरोप समेत लगाए।
संविधानमा उल्लेखित अधिकारहरू अझै कार्यान्वयनमा नआएकोप्रति चिन्ता व्यक्त गर्दै उनले ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने अवधारणा आफूले अघि सारे पनि यसको पूर्ण कार्यान्वयन हुन नसकेको बताए।
प्रचण्डले देशलाई समृद्ध बनाउने मूल आधार संविधान र संघीयता भएको दोहोर्याउँदै त्यसको मजबूतीका लागि सबै राजनीतिक शक्ति, जनप्रतिनिधि र नागरिक समाजले साझा प्रतिबद्धता जनाउनु पर्ने धारणा राखे।
प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया