काठमाडौं – सरकारले चक्रपथ भित्र र वरपरका क्षेत्रलाई दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीव्र आपत्ति जनाएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको जेठ १८ गतेको निर्णयलाई ‘लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लङ्घन’ भन्दै कडा विरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले जेठ १९ गतेदेखि लागू हुने गरी बल्खु, सिफल चौर र कोटेश्वरको आकाशे पुलदेखि बालकुमारी क्षेत्रसम्म मात्र प्रदर्शन गर्न दिने र चक्रपथ भित्र तथा वरपरका सम्पूर्ण क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
“लोकतान्त्रिक सरकारको दुहाई दिने दुई तिहाईको सरकारले इतिहासमै पहिलोपटक काठमाडौं महानगर क्षेत्रलाई नै निषेधित क्षेत्र तोक्ने हास्यास्पद निर्णय गरेको छ,” विज्ञप्तिमा उल्लेख छ।
राप्रपाले सरकारको उक्त कदमलाई ‘अलोकतान्त्रिक, सर्वसत्तावादी, गैरसंवैधानिक र पराजित मानसिकताको उपज’ भएको आरोप लगाएको छ।
विज्ञप्तिमा भनिएको छ, “सरकारको निर्णयले नागरिकको शान्तिपूर्ण भेला हुने, विचार अभिव्यक्त गर्ने र राजनीतिक दलले स्वतन्त्र गतिविधि गर्न पाउने संवैधानिक अधिकारमाथि ठाडो हस्तक्षेप गरेको छ।”
राप्रपाले उक्त आदेश तत्काल फिर्ता लिन आग्रह गर्दै, लोकतन्त्र विरोधी कदमको विरोधमा उभिन सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संगठन, लोकतान्त्रिक अगुवा, बुद्धिजीवी, सञ्चारमाध्यम र आम जनसमुदायलाई आह्वान गरेको छ।

प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया