काठमाडौं । सहकारी ठगी मुद्दामा रुपन्देहीको जिल्ला कारागारमा थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं सरुवा हुने इच्छामा छन्। उनी डिल्लीबजार कारागार आउन चाहेको भन्दै प्रक्रिया अघि बढाइएको छ।
रुपन्देही कारागार स्रोतका अनुसार, सर्वोच्च अदालतबाट थुनामा राख्ने आदेशपछि लामिछानेले काठमाडौं सरुवा हुन इच्छा व्यक्त गरेका हुन्। यसअघि सोध्दा उनी रुपन्देहीमै बस्न तयार रहेको बताएका थिए। तर, अब सरुवा गरेर डिल्लीबजार ल्याउन प्रक्रिया अघि बढाइएको हो।
कारागार प्रशासनले कुनै कैदीले आफूलाई पायक पर्ने स्थानमा सरुवा माग गर्न पाउने भए पनि निर्णय गर्दा सुरक्षासहित विभिन्न पक्ष हेर्ने बताएको छ। लामिछानेलाई पार्टी नेताहरू र परिवारसँग भेटघाट गर्न सजिलो होस् भनेर डिल्लीबजार ल्याउन लागेको बताइएको छ।
गृह मन्त्रालयका अधिकारीका अनुसार, सरुवाका लागि अदालतले पनि सहजीकरण गर्न भनेको छ। रुपन्देही जिल्ला अदालतबाट अनुमति भइसकेको र हाल प्रक्रिया कारागार व्यवस्थापन विभागमा पुगेको जनाइएको छ। निर्णय भएपछि उनलाई डिल्लीबजार कारागार ल्याइनेछ।
डिल्लीबजार कारागारले लामिछानेलाई ‘ख’ ब्लकमा राख्ने तयारी गरेको छ, जहाँ गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पनि थुनामा छन्।
२०८१ चैत २२ मा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा पठाएको थियो। जिल्ला अदालतको धरौटी आदेश बदर भएपछि उनलाई काठमाडौंस्थित घरबाटै पक्राउ गरिएको थियो। पत्नी निकिता लामिछानेले सर्वोच्चमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज भएको थियो।
अब मुद्दा टुंगो नलागेसम्म लामिछाने थुनामा नै बस्नुपर्ने भएकाले उनले सरुवा गर्न चाहेको अधिकारीहरूको भनाइ छ।
किन डिल्लीबजार कारागार रोजाइमा पर्छ?
डिल्लीबजार कारागार विगतदेखि ‘भीआईपी’ कैदीहरूको रोजाइमा पर्दै आएको छ। थोरै कैदी, राजधानी नजिकको पहुँच, सजिलो भेटघाट र केही सुविधाजनक वातावरणका कारण यो कारागार मागमा पर्ने गरेको हो।
पूर्वमन्त्री खुमबहादुर खड्का, श्यामसुन्दर गुप्ता, पूर्वसांसद बालकृष्ण ढुंगेल, प्रहरीका पूर्वआईजीपी ओमविक्रम राणा र हेमबहादुर गुरुङ लगायत यस कारागारमा थुनामा बसेका थिए।
कारागारमा टेबलटेनिस, क्यान्टिन, भेटघाट सहजता जस्ता सुविधा छन्। प्रहरीका पूर्वडीआईजी पिताम्बर अधिकारी भन्छन्, “थोरै कैदी भएका कारण भेटघाट र सञ्चार सुविधा सजिलो हुन्छ, त्यसैले भीआईपीको रोजाइमा पर्छ।”
प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया