काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकलाई संसदमा आफ्नो पक्ष राख्न दिनुपर्ने संकेत दिएको छ। बिहीबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटार निवासमा बसेको पार्टी पदाधिकारी बैठकमा गृहमन्त्रीलाई संसदमा बोल्न दिने र उनको जवाफ सुन्ने धारणा बलियो रूपमा उठेको हो।

बैठकमा सहभागी एक नेताले भने, “गृहमन्त्री स्वयंले भिजिट भिसा प्रकरणमा जवाफ दिने तयारीमा रहेको बताइरहनु भएको छ। यस्तो अवस्थामा उहाँलाई सदनमा बोल्न दिई कुरा के हो भनेर बुझ्नुपर्छ। यदि उहाँका भनाइ चित्तबुझ्दो लागेन भने थप प्रश्न र कदम उठाउन सकिन्छ।”

advertisement

बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले सत्ता पक्ष र प्रतिपक्ष दुबैसँग मिलेर प्रतिनिधिसभा बैठक सुचारु गराउने विषयमा संवाद अघि बढाइने जानकारी दिए।

“यो संवेदनशील र गम्भीर विषय हो। छानबिन आवश्यक छ भन्नेमा हामी स्पष्ट छौं। त्यसका लागि संसदमा छलफल हुनसक्ने वातावरण बनाइनुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं,” सापकोटाले भने।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा वा संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने अडान राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मागलाई माओवादी केन्द्रले पनि प्रारम्भिक समर्थन जनाउँदै आएको छ। यही कारण मंगलबार र बुधबारका प्रतिनिधिसभा बैठकहरू सूचना टाँसी स्थगित भएका थिए।

अब माओवादीको पछिल्लो संकेतसँगै संसद खुलाउने सम्भावना पनि बढेको देखिएको छ, तर त्यसका लागि दलहरूबीच स्पष्ट सहमति आवश्यक देखिन्छ।

प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com