काठमाडौं । गृह मन्त्रालयमा भिजिट भिसा प्रकरणसँग जोडिएको विवादका कारण उत्पन्न भएको संसद् अवरोध हटाउने कि निरन्तरता दिने भन्ने विषयमा विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी छ।

जेठ १३ गतेदेखि लगातार संसद् अवरुद्ध गर्दै आएका विपक्षी दलहरू सुरुमा गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए। तर पछिल्लो चरणमा उनीहरू उक्त अडानबाट केही लचिलो बनेका छन्।

advertisement

बिहीबार बसेको विपक्षी गठबन्धनको बैठकले गृहमन्त्रीको राजीनामाको मागलाई प्राथमिकतामा नराख्दै अब भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति गठन गर्न सरकार सदनमा स्पष्ट प्रतिबद्ध हुनुपर्ने माग राखेको थियो।

तर विपक्षी नेताहरूले सरकार उक्त मागमा तयार नभएको आरोप लगाएका छन्। उनीहरूका अनुसार संसद् सञ्चालनका लागि गरिएका संवाद र प्रयासहरू हालसम्म निष्फल भएका छन्।

सांसद माधव सापकोटाले सरकार विपक्षीको मागप्रति संवेदनशील नभएसम्म संसद् अवरोध जारी रहने स्पष्ट पारे। उनका अनुसार संसद्लाई सञ्चालन गर्न सरकार गम्भीर नबनेकोले मुलुकको महत्वपूर्ण विधायिका अहिले बन्धकजस्तो अवस्थामा पुगेको छ।

विपक्षी दलहरूले अबको प्राथमिकता छानबिन प्रक्रिया निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन समितिको गठन गर्न सरकारले सदनमा ठोस प्रतिबद्धता जनाउनु पर्नेमा जोड दिँदै आएका छन्।

प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com