काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा अड्किएका महत्वपूर्ण विधेयक पारित गराउन सरकारले देखाएको लचकता आफूले स्वीकार गर्नुपरेको स्पष्ट पारेका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी सम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै यस्तो बताएका हुन्।
प्रचण्डले भने, “सरकारसँग केही लचिलो भएर महत्वपूर्ण समझदारी कायम गर्नुपरेको हो। यसको उद्देश्य भनेकै संसद्मा लामो समयदेखि रोकिएका महत्त्वपूर्ण विधेयकहरू पारित गर्नु हो।”
हालै भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अबरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दलसँग माओवादी केन्द्रले दुई बुँदे सहमति गरेपछि प्रचण्ड आलोचनाको घेरामा परेका थिए। उनले आफूले सहमति गर्नुको पछाडि ठोस कारण रहेको बताए।
उनले भने, “संसदीय समितिमा विधेयकमाथि लामो छलफल भइसकेको हुन्छ। उपसमिति गठन भएर काम अघि बढिसकेको हुन्छ। तर ती विधेयकहरू प्रतिनिधिसभाको कार्यसूचीमा परे पनि पारित नहुने र फेरि-फेरि रोकिने अवस्था देखिएको छ।”
प्रचण्डले संघीय निजामति, संघीय प्रहरी, नागरिकता संशोधन, विद्यालय शिक्षा लगायतका ऐनहरू अत्यन्तै आवश्यक भइसकेको जनाउँदै ती विधेयकहरू अब जति टारिए पनि नहुने अवस्था आएको बताए।
“संघीय निजामति सेवा विधेयक संसद्को कार्यसूचीमा चढे पनि पारित नभई फर्किनु परेको घटनाले पनि मलाई गम्भीर सोचमा पारेको छ,” उनले भने, “त्यसैले म केही हदसम्म लचिलो हुनुपरेको महसुस गरिरहेको छु।”
उनले अब ती विधेयकहरूमाथि गम्भीर र गहिरो छलफल गर्नुपर्ने आवश्यकता औंल्याए।
प्रकाशित मिति: ११ असार २०८२, बुधबार












प्रतिक्रिया