- नारायण नेपाल/विचार
लौ सरकारी स्कुलमा पनि सबै पास भए अरे !, माथिको हाइस्कुल त निल गएछ नि ! हाम्रो त आवस्यक परेमात्रै अतिरिक्त कक्षा चलाउने गर्या छ, र पनि सबै पास भइयो । B भन्दा माथिकै छ ग्रेड सबैको । मेरो त छेउको साथीले सार्नलाई कपी लगेको ढिलो भयो अनि दुईवटा प्रश्नै छुटेको नत्र A+ नै ल्याइन्थ्यो । क्या डराउँदै हलमा गको, भित्र त आफ्नै काकाटिचरले पो बोर्डमा झ्यामझ्याम । हामी धेरैको पूर्ण जिपिए नै छ ।हाम्रो त भर्ना गर्दै सेन्टर मिलाइन्छ भन्या हुन्, भयो पनि । स्कुलबाट म्यासेजमा सप्पै एन्सर ! अनि जिपिए आउँदैन त भन्याजस्तो ।
माथिका मिस्रित अभिव्यक्तिले जे बुझाए पनि प्रस्तुत आलेख भर्खरै प्रकाशित एसईई परीक्षाको नतिजा र यसले सङ्केत गरेका प्रश्न खोतल्ने कडीमा आधारित छ । यहाँ उल्लिखित विचारले ईमानदार मन कतैपनि छुनेछैन भन्ने आशा साझा गरिन्छ, र अन्यथा गर्नेहरूबाट सुधारको कदम अपेक्षित रहेको बताइन्छ ।
सुरु बुझ्दा, माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार, नियमिततर्फ परीक्षा दिएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जेम्प्टेडतर्फ १६ हजार ५७२ परीक्षार्थी उत्तीर्ण भएका छन्।
बोर्डका अनुसार, यस वर्ष ५ लाख १४ हजार विद्यार्थीमध्ये ४ लाख ९५ हजार ७५१ जनाले परीक्षा दिएका थिए। तीमध्ये ११ हजार ४५४ जना ग्रेड सुधार परीक्षा तथा १४ हजार ५६४ जना प्राविधिक धारका परीक्षार्थी थिए। गत वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा २२ हजार ६४० जना अनुपस्थित भएका थिए।
उत्कृष्ट ग्रेड वाग्मती प्रदेशबाट
उच्च ग्रेड प्राप्त गर्नेमा वाग्मती प्रदेश अगाडि देखिएको छ। ३.६ देखि ४.० सम्मको ग्रेड (जीपीए) ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ। त्यसैगरी, ३.२ देखि ३.६ बीचको ग्रेड ल्याउने ८१ हजार ३५५, २.८ देखि ३.२ का ९९ हजार १२४, २.४ देखि २.८ का ४८ हजार ४७९, २ देखि २.४ का ४ हजार १२६, र १.६ देखि २.० ग्रेड ल्याउने ८ जना मात्र रहेका छन्।
गुणस्तरको सवालमा प्रश्नचिह्न
यद्यपि यसपटक नतिजामा केही सुधार देखिएको छ, विशेषज्ञहरू समष्टिगत गुणस्तर सुधारमा अझै चुनौतीहरू रहेको बताउँछन्। विशेषतः परीक्षा केन्द्र छनोट, कोठे चलखेल, तथा नतिजा सेटिङ जस्ता गतिविधिले यसपटक पनि प्रश्नचिह्न खडा गरेको भन्दै धेरैले असन्तुष्टि जनाएका छन्।
अभिभावक, शिक्षक तथा शिक्षा विज्ञहरूका अनुसार, माथिल्लो ग्रेड ल्याउने लहरले कतिपय विद्यालयहरूमा पढाइभन्दा बाहिरी सेटिङ र तयारी कक्षाहरूमा अनावश्यक चाप सिर्जना गरेको छ। दोहोरो शुल्क उठाएर थोपरिएका अतिरिक्त कक्षाले स्वतन्त्र अध्ययन गर्ने विद्यार्थीलाई पनि दवाबमा पारेको उनीहरूको भनाइ छ।
शिक्षामा सुधारको खाँचो
विगत वर्षहरूका तुलनामा नतिजा सकारात्मक देखिए पनि, शिक्षाको समग्र गुणस्तर वृद्धि गर्न प्रणालीगत तथा व्यवस्थापकीय सुधार आवश्यक रहेको बताइएको छ। परीक्षा प्रणालीमा पारदर्शिता, केन्द्र निर्धारणमा निष्पक्षता, र शिक्षण सिकाइको वास्तविक मूल्याङ्कन प्रणालीमा सुधार नगर्दासम्म विद्यार्थीहरू स्थायी उपलब्धि हासिल गर्न नसक्ने विज्ञहरूको तर्क छ।
यसैगरी, जथाभावी प्रचारबाजी र विज्ञापनको होड बेतुके कदम मान्नेहरूको बुझाइमा शिक्षाको थलो शैक्षिक ओज राख्ने हुनुपर्छ भन्दछन् र विद्यमान बेथितिविरुद्ध सम्बन्धित निकायको ध्यान पुग्न आवस्यक रहेको बताउँछन् ।
शुभकामना र चेतावनी दुवै
स्वयम् मेहनत गरी उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीहरूलाई शुभकामना दिइएको छ। तर तिनै नतिजालाई सामाजिक सञ्जालमा छताछुल्ल पार्ने क्रममा कम ग्रेड ल्याउने विद्यार्थीको आत्मसम्मानमा आँच पुर्याउने प्रवृत्ति पनि बढ्दो छ, जसलाई रोक्न शिक्षक, अभिभावक, र विद्यालय प्रशासन सबैले सचेत हुन आवश्यक छ।
निष्कर्ष
एसईई २०८१ को नतिजाले शिक्षा प्रणालीमा सुधारको संकेत गरे पनि अझै धेरै सुधारको खाँचो छ। शिक्षालाई साँचो अर्थमा मूल्यांकन गर्न परीक्षा प्रणाली सुधार गर्नुका साथै विद्यालय ऐनको स्थापना र प्रभावकारी कार्यान्वयन अनिवार्य देखिन्छ। परीक्षा मात्र होइन, शिक्षाको सिङ्गो उद्देश्यलाई केन्द्रीकृत गर्ने यथार्थपरक योजना निर्माण र कार्यान्वयन नभएसम्म समग्र शिक्षामा गुणस्तरीय फड्को आउन कठिन हुने देखिन्छ।
- अध्यापक, नारायण नेपाल समसामयिक सामाजिक, राजनैतिक तथा साहित्यिक क्षेत्रमा कलम चलाउँछन्।
प्रकाशित मिति: १५ असार २०८२, आइतबार












प्रतिक्रिया