काठमाडौं । भन्सार विधेयक, २०८० मंगलबार राष्ट्रिय सभाबाट पारित भएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा पेश गरेका थिए। बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
अर्थमन्त्री पौडेलले विधेयकमार्फत भन्सार चुहावट नियन्त्रण, प्रविधिको प्रयोग विस्तार, जाँचपास प्रक्रिया छरितो र प्रभावकारी बनाउने कार्य अघि बढ्ने विश्वास व्यक्त गरे।
सरकारले नेपाल पक्ष राष्ट्र रहेको संशोधित क्योटो महासन्धि र विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) अन्तर्गतको व्यापार सहजीकरण सम्झौता कार्यान्वयनका लागि विधेयक ल्याएको हो।
संशोधित क्योटो महासन्धिअनुसार सदस्य राष्ट्रले सामान्य प्रावधान तीन वर्षभित्र र सङ्क्रमणकालीन मापदण्ड पाँच वर्षभित्र कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ।
विधेयक प्रमाणीकरण भएको मितिले ९१ औं दिनदेखि लागू हुनेछ।
राष्ट्रिय सभाको अर्को बैठक असार २० गते शुक्रबार दिउँसो १:१५ बजे बस्नेछ।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार












प्रतिक्रिया