काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिकूल मौसम र कमजोर भौतिक पूर्वाधारका कारण स्थगित गरिएको स्पष्ट पारेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले गण्डकी प्रदेश, सुर्खेतलगायतका स्थानमा आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिको काम भइरहेको भए पनि हालको अवस्था खेल आयोजना गर्न पर्याप्त नभएको बताएका हुन्।
“खेल आयोजना गर्न अनुकूल मौसम नभएको र विभिन्न सरोकारवालाबाट प्राप्त सुझाव तथा प्रतिवेदनका आधारमा प्रतियोगिता हाललाई स्थगित गरिएको हो,” मन्त्री चौधरीले भने, “तर प्रतियोगिता आयोजना गर्न आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट विनियोजन भइसकेको छ, त्यसैले प्रतियोगिता अर्को वर्ष हुनेछ।”
उनका अनुसार प्रतियोगिताका लागि पूर्वाधार निर्माण तीव्र पारिएको छ र मन्त्रालयले तयारीलाई प्राथमिकतामा राखेको छ। प्रतियोगिता सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उनले जोड दिए।
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार













प्रतिक्रिया