झापा । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि कटाक्ष गर्दै आफ्नो पार्टीले कहिल्यै भ्रष्टाचार नगर्ने दाबी गरेका छन्। झापामा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा अध्यक्ष रवि लामिछानेलाई लक्षित गर्दै गम्भीर आरोप लगाए।
“एमाले र म केपी ओलीले कहिल्यै भ्रष्टाचार गर्दैनौँ,” ओलीले भने, “हामी मुद्दा लागेपछि सहानुभूति बटुल्न हस्ताक्षर संकलन गर्दै सडकमा रुन थाल्ने पार्टी होइनौँ। त्यो शैली रास्वपाको हो, हाम्रो होइन।”
उनले एमालेमाथि भित्रभित्रै र बाहिरबाट भइरहेका षड्यन्त्रहरू सफल नहुने दाबी गरे। “एमालेविरुद्ध जाल बुन्नेहरूले के भन्छन्, त्यो माकुरोको जालो हो— त्यसमा भैँसी कहिल्यै अडिन्न,” उनले उदाहरणसहित प्रतिक्रिया दिए।
अध्यक्ष ओलीले पार्टीभित्रै केही व्यक्तिहरूले आफूलाई हटाएर ‘ओलीविनाको एमाले’ बनाउने सपना देखिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको हालको राजनीतिक सक्रियताप्रति पनि संकेत गर्दै पार्टीलाई कमजोर बनाउन खोज्ने कुनै प्रयास नचल्ने स्पष्ट पारे।
“एमाले कुनै सानो स्वार्थ समूहको संगठन होइन,” ओलीले भने, “हामी राष्ट्र निर्माणको ठूलो जिम्मेवारी बोकेका छौं। जनताको भरोसा प्राप्त गरेको पार्टीलाई कमजोर पार्ने षड्यन्त्र सफल हुन सक्दैन।”
प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा देशले विकासको गतिमा फड्को मारेको दाबी गर्दै फलाम खानी, पेट्रोलियम उत्खनन, सुरुङ मार्ग जस्ता परियोजनाको थालनी भएको उल्लेख गरे। उनले कार्यकर्तालाई हल्ला र भ्रमको पछि नलाग्न आग्रह गर्दै, “पार्टीको नीति, नेतृत्व र मार्गदर्शनमा दृढ भएर अघि बढ्नुस्,” भन्ने निर्देशनसमेत दिए।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया