काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले आफ्नो पार्टी सरकार ढाल्ने उद्देश्य वा तयारीमा नरहेको स्पष्ट पारेका छन्।

रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्र देशमा राजनीतिक स्थायित्व चाहने पक्षमा रहेको बताउँदै सरकारलाई अस्थिर बनाउने कुनै नियत नरहेको प्रस्ट पारे।

advertisement

“सरकार ढाल्ने सोचमा माओवादी छैनौं,” उनले भने, “एमाले र कांग्रेस एउटै ठाउँमा आएपछि देश अस्थिर नहोस् भन्ने हाम्रो चाहना हो। अहिलेको सरकारले राम्रो काम गरोस् भन्ने हाम्रो अपेक्षा हो।”

तर, उनले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको दाबी गरे। विकास, आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन जस्ता जनअपेक्षा पूरा गर्न सरकार चुकेको उनको आरोप थियो।

“सरकार सीमित हित समूहको लागि काम गरिरहेको देखिन्छ,” शाहीले भने, “दलाल, हुनेखानेको पक्षमा नीतिहरू ल्याइएको छ। बजेट, अध्यादेश र नीति सबैले यही पुष्टि गर्छ।” उनले यो सरकारबाट जनताले अपेक्षा गरेको परिवर्तन सम्भव नरहेको दाबी गर्दै भने, “अब यो सरकारले टिके जति धेरै क्षति हुन्छ भन्ने धारणा आम जनतामा बनिसकेको छ।”

शाहीले सत्ता समीकरण फेरबदलको सम्भावनालाई अस्वीकार गर्न नसकिने पनि बताए। उनले नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रधानमन्त्री बन्न सक्ने सम्भावना पनि रहन सक्ने औंल्याए।

“नेपाली राजनीतिमा असम्भव केही हुँदैन,” उनले भने, “आजको रातको अवस्था अर्कै हुन्छ, भोलि विहान अर्कै। शेखर कोइराला मात्रै होइन, अर्को पनि पात्र आउन सक्छ।”

शाहीले वर्तमान सरकारविरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू सक्रिय रहेको दाबी गरे। “भित्री बाहिरी चलखेलहरू तीव्र छन्। धेरै नेताहरू व्यक्तिगत स्वार्थकै पछि लागिरहेका छन्,” उनले भने, “राजनीतिक इमानदारिता गुम्दै गएको जनताले महसुस गरिरहेका छन्।”

फरक प्रसङ्गमा बोल्दै उनले केपी शर्मा ओलीको नेतृत्वमा वाम एकता असम्भव भएको दाबी गरे। “ओलीप्रति आफ्नै पार्टीभित्र विश्वास छैन। उहाँ विश्वासघाती हुनुहुन्छ। त्यसैले उहाँको नेतृत्वमा वाम एकता सम्भव छैन,” शाहीले प्रस्ट पारे।

अन्त्यमा, शाहीले कांग्रेसलाई अहिलेको सत्ता गठबन्धन तोडेर आउन दबाव दिएको भन्ने कुरालाई अस्वीकार गरे। “हामीले भनेका छौँ, तपाईंलाई अप्ठ्यारो परे सहयोग गर्छौँ, तर आउनुस् भनेका छैनौँ,” उनले स्पष्ट पारे।

शाहीको अभिव्यक्तिले माओवादी केन्द्रले वर्तमान सरकारको कमजोरीप्रति स्पष्ट असन्तोष राखेपनि तत्कालै सरकार परिवर्तनमा जाने रणनीति नअपनाएको देखिन्छ।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com