काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू पार्टी सभापति रवि लामिछाने थुनिएकै जिल्ला रुपन्देहीतर्फ प्रस्थान गरेका छन्। पार्टीले संसदीय दलको बैठक रुपन्देहीमा आयोजना गर्ने निर्णय गरेसँगै सबै सांसदहरू त्यहाँ पुगेका हुन्।
पार्टी स्रोतका अनुसार आउँदो कात्तिक २७ गते हुने रुपन्देही–३ उपनिर्वाचनलाई लक्षित गर्दै राजनीतिक रणनीति तय गर्न बैठक आयोजना गरिएको हो। साथै, भैरहवाको कारागारमा रहेका सभापति लामिछानेसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रमसमेत तय गरिएको छ।
रास्वपाले उक्त निर्वाचन क्षेत्रका मतदातासँग सम्पर्क विस्तार गर्ने, चुनावी अभियानको अनौपचारिक थालनी गर्ने र आगामी रणनीति तय गर्ने लक्ष्यसहित दुई–तीन दिन रुपन्देहीमा रहने जनाएको छ।
पार्टीले रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेको छ। गत साउन ५ गते उम्मेदवारीका लागि दरखास्त आह्वान गरिएको थियो भने दरखास्त दिने म्याद साउन २१ सम्म कायम गरिएको छ। रास्वपाको रणनीति सम्बन्धित निर्वाचन क्षेत्रबाट नै उम्मेदवार खडा गर्ने रहेको छ।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया