भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा जारी छ।
बैठक अघि रास्वपाका नेताहरूले सहकारी ठगी प्रकरणमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई भेटेका थिए। त्यसपछि उनीहरू भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटल रमादामा आयोजित संसदीय बैठकमा सहभागी भएका हुन्।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संसदमा उठाइएका भिजिट भिसा सम्बन्धी मुद्दा, संसदमा सरकारले बहुमतको बलमा विपक्षी दलहरूको मागलाई बेवास्ता गर्दै विधेयक पारित गर्ने शैली, रास्वपाको भ्रष्टाचारविरोधी अडानलगायत विषयमा समिक्षा हुँदैछ। साथै, आगामी रणनीतिबारे पनि निर्णय हुने उनले बताए।
परियारका अनुसार रास्वपाका सांसद र नेताहरू दुई दिनसम्म भैरहवा र रुपन्देही क्षेत्र नं ३ मा रहनेछन्। बैठकपछि पार्टीले सञ्चालन गरिरहेको हस्ताक्षर संकलन अभियानमा सांसदहरू पनि सहभागी हुनेछन्।
यो अभियानअन्तर्गत मतदाताहरूले कस्तो उम्मेदवार चाहन्छन् भन्ने मनोभावना बुझिनेछ। साथै, पार्टीको संगठन निर्माणबारे स्थानीय नेताहरूसँग छलफल गरिने कार्यक्रम रहेको क्षेत्रीय सभापति मधु अर्यालले जानकारी दिए।
हाल रास्वपाले रुपन्देही क्षेत्र नं ३ का सबै ३६ वडामा हस्ताक्षर संकलन गरिरहेको छ। हालसम्म २० हजारभन्दा बढी हस्ताक्षर भइसकेको पार्टीले जनाएको छ।
यद्यपि, आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा उम्मेदवारको टुंगो भने हालै नलाग्ने प्रमुख सचेतक परियारले स्पष्ट पारे। पार्टीले उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरिसकेको छ। आवेदनको म्याद पूरा भएपछि मात्र उम्मेदवार छनोटसम्बन्धी छलफल हुने जानकारी उनले दिए।
गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपा रुपन्देही क्षेत्र नं ३ मा १४ हजारभन्दा बढी समानुपातिक मतसहित तेस्रो स्थानमा रहेको थियो। संगठन नभएको अवस्थामा त्यो परिणाम आएको भन्दै अहिले वडा तहसम्म संगठन विस्तार गरिएको रास्वपाले जनाएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया