काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घुस काण्डमा मुछिएका मन्त्रीहरूमाथि कारबाही प्रक्रिया अघि नबढाएको भन्दै सरकारमाथि कडा आपत्ति जनाएको छ। प्रतिनिधिसभाको बैठकमा शुक्रबार बोल्दै सांसद असीम साहले भ्रष्टाचार आरोपित गृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री राजकुमार गुप्तालाई प्रश्नको घेऱामा ल्याएका हुन्।
सांसद साहले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै सो प्रकरणलाई जनताले कहिल्यै नबिर्सने दाबी गरे। “भिजिट भिसाको नाममा मानव तस्करहरूको फाइल कहाँ पुग्यो? जनताले यो प्रकरण कहिल्यै बिर्सँदैनन्, र हामी बिर्सिन पनि दिने छैनौँ,” उनले भने।
साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई “व्यवस्था विरोधी” र “संसद् विरोधी” भनेको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए। उनले भने, “धूलो त ऐना हेर्ने तपाईंहरुकै मन्त्रिपरिषद्का सदस्यहरूको अनुहारमा लागेको छ। ऐना देखाउने रास्वपालाई गाली गरेर केही समाधान हुँदैन।”
पूर्वमन्त्री गुप्ताको अडिओ सार्वजनिक भएपछि राजीनामा दिइए पनि कानुनी प्रक्रिया अघि नबढेकोप्रति रास्वपाले असन्तुष्टि जनाएको छ। साहले भने, “राजीनामा त अब भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गंगास्नान पो भएछ।” उनले अडिओमा नाम आएका अन्य मन्त्रीलाई संरक्षण गरिएको आरोप पनि लगाए।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार













प्रतिक्रिया