काठमाडौं । आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बन्ने व्यक्तिको छनोट प्रक्रिया आज (बुधबार) साँझ ५ बजेभित्र सम्पन्न हुने भएको छ।
रास्वपाले उम्मेदवार छनोटका लागि साउन ७ गतेदेखि मापदण्ड सार्वजनिक गर्दै खुला आवेदन आह्वान गरेको थियो। उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीका न्यूनतम मापदण्डसहित निर्वाचन आयोगले तोकेको कानुनी योग्यता पूरा गर्नुपर्ने व्यवस्था गरिएको थियो।
पार्टीका प्रवक्ता मनिष झाले मंगलबारसम्म पाँच जनाले उम्मेदवारीको लागि आवेदन दिइसकेको जानकारी दिएका छन्। उनले भने, “दरखास्त दिने समय आज साँझ ५ बजेसम्म बाँकी नै रहेकाले उम्मेदवारको संख्या अझै बढ्न सक्छ।”
अन्तिम निर्णय शुक्रबार बस्ने पार्टीको केन्द्रीय समिति बैठकले गर्नेछ। “उम्मेदवार छनोटबारे पार्टीले अहिलेसम्म कुनै औपचारिक निर्णय गरेको छैन,” प्रवक्ता झाले भने, “आज समयसीमा समाप्त भएपछि केन्द्रीय समितिले उम्मेदवार टुंगो लगाउनेछ।”
यसैबीच, पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका कारण उपनिर्वाचनको तयारी थप सक्रिय बनाउन रास्वपाको संसदीय दलको बैठक साउन १४ गते भैरहवामा बसेको थियो।
हिजो सम्पन्न पार्टी सचिवालयको बैठकमा समेत उम्मेदवार छनोट प्रक्रिया लगायत विषयमा गम्भीर छलफल भएको प्रवक्ता झाले जनाएका छन्। “बैठकमा उठेका विषयमा निर्णय लिइसकिएको छ, आज साँझसम्म सार्वजनिक गरिनेछ,” उनले स्पष्ट पारे।
प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार













प्रतिक्रिया