काठमाडौं ।  नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को नयाँ नेतृत्व चयन प्रक्रियामा कुलबहादुर गुरुङ अध्यक्ष पदका उम्मेदवारका रूपमा अघि आएका छन्। तर, उनीसँग जोडिएका विगतका विवादका कारण उनको उम्मेदवारीमा चासो र आलोचना उत्तिकै देखिएको छ।

गुरुङ महासचिव रहँदा आफ्नै छोरीलाई कार्यालयमा नियुक्त गरेका थिए। यस्तै, नेपालको पर्वतारोहण सम्पत्ति मानिने २७ वटा पर्वत शिखर (पिक) को रोयल्टी सरकारी कोषमा सुम्पिने निर्णयमा पनि उनको नाम जोडिएको थियो। यसबाहेक, महासचिव हुँदा कर्मचारीलाई जबर्जस्ती निष्कासन गर्नु, कानुनी विवाद सिर्जना गर्नु र क्षतिपूर्ति बोझ थप्नु, पोखरास्थित माउन्टेन म्युजियमको उपेक्षा गर्नु र संस्थाका सम्पत्ति जोगाउन असफल हुनुका आरोपहरू पनि उनको नामसँग जोडिएका छन्। यी घटनाले उनका नेतृत्व क्षमता र व्यक्तिगत आचरणप्रति प्रश्न उठाएको छ।

advertisement

नेपाल पर्वतारोहण सङ्घलाई नेपालको हिमाल, पर्यटन र अन्तर्राष्ट्रिय छविसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण संस्था मानिन्छ। त्यसैले यस संस्थाको नेतृत्व विवादमुक्त, पारदर्शी र दूरदृष्टियुक्त हुनुपर्ने सरोकारवालाहरूको भनाइ छ। तर, गुरुङ रणनीतिमा असक्षम रहेको, पर्वतारोहणसम्बन्धी प्रत्यक्ष ज्ञान नभएको र अन्तर्राष्ट्रिय प्रचलनबारे अनभिज्ञ रहेको मतदाताहरूले देखाएको टिप्पणी छ।

मतदाता प्रतिनिधिहरूका अनुसार गुरुङसँग नेतृत्वको ठोस अनुभव छैन। अघिल्लो पालिका निर्वाचनमा पनि हार बेहोरेका उनले सङ्घलाई आगामी दिनमा स्पष्ट दिशा दिन सक्ने क्षमता नभएको विश्लेषकहरूले उल्लेख गरेका छन्।

सरोकारवालाहरूले बारम्बार पर्वतारोहण सङ्घको नेतृत्वमा प्राविधिक ज्ञान, अन्तर्राष्ट्रिय अनुभव र दूरदृष्टि भएको व्यक्तित्व आवश्यक हुने बताएका छन्। तर गुरुङ अहिले पनि आफ्नै राजनीतिक हैसियत र सञ्जालको आधारमा अध्यक्ष पदमा पुग्ने प्रयासमा छन्।

विगतमा आफ्नै छोरीलाई सङ्घमा नियुक्त गर्नु र २७ वटा पर्वत शिखर सरकारलाई हस्तान्तरण गर्ने निर्णयमा संलग्न हुनुले उनको उम्मेदवारी विवादमा परेको छ। विश्लेषकहरूले पनि नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै सङ्घको छवि जोगाउन प्राविधिक दक्ष र दूरदृष्टि भएको व्यक्तित्व आवश्यक रहेको सुझाव दिएका छन्।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com