काठमाडौं । सामाजिक सञ्जालमा बिहीवार भाइरल बनेको एउटा फेसबुक स्ट्याटसले क्षणभरमै हजारौँ सेयर र कमेन्ट पायो । दलित अधिकार अभियन्ता खगेन्द्र सुनारले लेखेको उक्त स्ट्याटसमा सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्रबहादुर पालले दलित भएकै कारण बैतडीका किरण कोलीलाई गाडीले किचेर हत्या गरेको दाबी गरिएको थियो । साथै, मृतकको आमालाई धम्की दिइएको र पीडित परिवारलाई ५ लाख रुपैयाँ भुक्तानी गरेर घटना मिलाउन खोजिएको आरोप लगाइएको थियो ।
तर, ग्लोबल नागरिकमा प्रशारण हुने कार्यक्रम ‘द रियालिटी’ले गरेको तथ्यजाँचमा सुनारको दाबी गलत सावित भएको छ । २०८२ साल साउन १७ गते बैतडीको डिलासैनी गाउँपालिका–३ का १३ वर्षीय किरण कोलीको मृत्यु गाडीले नभई करेन्ट लागेर भएको पाइएको छ ।
स्थानीय, प्रहरी, वडाध्यक्ष र मृतकका आफन्तले दिएको विवरणअनुसार चमेलिया नदी किनारमा बालुवा उत्खनन गर्ने क्रममा स्काभेटरले बिजुलीको पोल नजिकैसम्म बालुवा थुपारेको थियो । सोही क्रममा करेन्ट सटभई किरणको मृत्यु भएको पुष्टि भएको हो ।
उक्त घटनामा मन्त्री पालको प्रत्यक्ष संलग्नता देखिएन। तर, मृतकका आफन्त र स्थानीयले चमेलिया नदीको बालुवा खानी मन्त्री पालकै भएको बताएका छन् । यसरी, खानीमा भएको लापरबाही अप्रत्यक्ष रूपमा मन्त्री पालसँग जोडिने स्थानीयको भनाई छ ।
त्यस्तै, सुनारले दाबी गरेको जस्तो पीडित परिवारलाई जबर्जस्ती ५ लाख रुपैयाँ दिइएको देखिएन । मृतकका काका देवेन्द्र कोलीका अनुसार बालकका बुबा नभएकाले वडा अध्यक्ष रघुवीर बोहोराको पहलमा स्थानीयले सहयोग रकम संकलन गरी आमा राजमति कोलीको खातामा जम्मा गरिएको हो ।
घटना सार्वजनिक भएपछि नेपाली कांग्रेस, रास्वपा लगायत दलहरूले छानबिनको माग गर्दै विज्ञप्ति जारी गरेका थिए । तर एमाले, मन्त्रीको सचिवालय, मुक्ती समाज र प्रदेश प्रहरीले सुनारको दाबी असत्य भएको भन्दै आधिकारिक विज्ञप्ति निकालेर घटनाको वास्तविकता सार्वजनिक गरेका छन् ।
यसरी, फेसबुकमा फैलिएको सनसनीपूर्ण दाबी झुटो सावित भएको छ भने वास्तविकता भने करेन्ट लागेर भएको दु:खद घटना रहेको प्रमाणित भएको छ ।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया