काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय चमतिमा जारी छ। पार्टी प्रवक्ता मनिष झाले बैठकमा चारवटा मुख्य कार्यसूचीमा छलफल भइरहेको जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय र पार्टी गतिविधिसँग सम्बन्धित बृहत् छलफल भइरहेको छ। साथै, पार्टी सभापति रवि लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियान, वर्तमानमा जारी पार्टी प्रशिक्षण कार्यक्रम र संगठन सम्बन्धि गतिविधि तथा विभागहरूको क्रियाशीलताबारे पनि छलफल हुनेछ।

advertisement

बैठकमा केन्द्रीय संगठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागको कामको समीक्षा गरिने प्रवक्ता मनिष झाले बताए। त्यस्तै, प्रदेश इन्चार्जहरूको कार्यसम्पादनबारे पनि समीक्षा हुने जानकारी दिइयो।

आजको बैठकमा रूपन्देही–३ उपनिर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत मूल्यांकन विधि र लिडरसिप एकेडेमी अभ्यासबारे पनि छलफल हुने उनले बताए। कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि ९ जना प्रतिस्पर्धी छन्, र प्रारम्भिक निर्वाचनमार्फत् उम्मेदवार टुंग्याउने तयारी भइरहेको छ।

त्यस्तै, वडा परिषद् कार्यविधि, पालिका परिषद् कार्यविधि र जिल्ला अधिवेशन कार्यविधिसहित विशेषज्ञलाई आह्वान गर्ने विषयमा पनि छलफल हुनेछ।

यसैबीच, पार्टी केन्द्रीय सदस्य चन्दा कार्कीले भिजिट भिसा प्रकरणमा पीडितको सहयोग गर्दा पार्टी नेताको सम्भावित अवाञ्छित संलग्नता भएको विषयमा गठित छानबिन समितिको प्रतिवेदन पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई आजै हस्तान्तरण गरेकी छन्।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com