काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल सरकारको पछिल्लो निर्देशनअनुसार देशमा दर्ता नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन लागिएको सन्दर्भमा युट्युब र गुगललाई पत्राचार गर्दै दर्ता प्रक्रिया र हालको स्थितिबारे स्पष्टता मागेको छ।
पार्टीले शुक्रबार पठाएको इमेलमा भनेको छ, “यो निर्देशनले युट्युब लगायतका प्रमुख प्लेटफर्महरूमा असर पार्नेछ र लाखौं नेपाली प्रयोगकर्ताहरूको दैनिक जीवनमा गम्भीर प्रभाव पर्नेछ।” रास्वपाले युट्युबले नेपालमा शिक्षा, डिजिटल नवप्रवर्तन, उद्यमशीलता, पत्रकारिता र सिर्जनात्मक अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएको पनि उल्लेख गरेको छ।
पत्रमा युट्युब/गुगलसँग सोधिएको छ कि सरकारी निर्देशन पालना गर्दै नेपालमा दर्ता प्रक्रिया अहिलेसम्म के कस्तो छ र त्यसमा के कस्ता चुनौती वा अवरोधहरू छन्। साथै, नेपाली प्रयोगकर्ताहरूको पहुँच सुनिश्चित गर्न दर्ता प्रक्रियाको स्पष्ट समयसीमा वा रोडम्याप उपलब्ध गराउन पनि आग्रह गरिएको छ।
रास्वपाका अनुसार समयमै दर्ता प्रक्रिया पूरा भए युट्युबले कानुनी आवश्यकताहरू पूरा गर्ने मात्र नभई दैनिक रूपमा प्लेटफर्ममा निर्भर रहेका लाखौं नागरिकहरूका लागि सेवा सहज हुनेछ। यदि कानुनी, प्रक्रियागत वा प्राविधिक अवरोध छन् भने सरोकारवालाबीच समन्वय आवश्यक रहेको पार्टीले जनाएको छ। पार्टीले उपयुक्त संवादका लागि भर्चुअल वा प्रत्यक्ष भेटघाटमा आफूहरू तयार रहेको पनि उल्लेख गरेको छ।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया