काठमाडौं । जेन–जी आन्दोलनमा गरिएको प्रहरी दमनका कारण १७ जनाको मृत्यु र दर्जनौँ घाइते भएपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा माग गरेका छन्।

केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा. गोविन्द पोखरेलले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीको पदत्याग आवश्यक भएको बताएका छन्। उनले लेखेका छन्, ‘गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्छ, यदि दिन आनाकानी गरे कांग्रेसले उनलाई फिर्ता बोलाउनुपर्छ। युवाहरूको मृत्युको प्रत्यक्ष जिम्मेवारी गृहमन्त्री लेखककै हो।’

advertisement

नेविसंघकी पूर्व नेतृ एलिजा ढकालले पनि गृहमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ‘तानाशाही प्रवृत्तिको सहयोगी’ भएको आरोप लगाइन्। उनले भनिन्, ‘कुनै भवनको पर्खालभन्दा दर्जनौँ मानिसको ज्यान महत्त्वपूर्ण हुन्छ। तर, तिमीहरूको अकर्मण्यताले आज देशको इतिहासमै कालो पाना थपिएको छ। गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ, कांग्रेसले पनि रगतले रञ्जिएको यो सरकारले छोड्नुपर्छ।’

अर्का नेता व्रितान्त खनालले पनि कांग्रेसले ढिलाइ नगरी सरकारबाट बाहिरिनुपर्ने माग गरे। उनले चेतावनी दिँदै भने, ‘अब पनि हेरेर बस्ने हो भने हामी कांग्रेसभित्रै आन्दोलन सुरु गर्नेछौँ।’

त्यसैगरी, नेविसंघका नेता धर्मराज शाहीले वर्तमान सरकारलाई “अपराधी” को संज्ञा दिँदै तीव्र आक्रोश व्यक्त गरे। उनले भने, ‘हाम्रा बच्चाहरूलाई यसरी मार्ने अपराधी सरकारलाई कुनै हालतमा माफी दिन सकिँदैन। अब यो आन्दोलन केवल जेन–जीको मात्र होइन, हाम्रो पनि हो। पूर्ण ऐक्यबद्धतासहित हामी आन्दोलनमा उत्रनेछौँ।’

गृहमन्त्रीको राजीनामाको मागसँगै कांग्रेसभित्र सरकारमा निरन्तर रहने वा तत्काल बाहिरिने भन्नेबारे गम्भीर बहस सुरु भएको छ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com