काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर भइरहेको जेन जेड आन्दोलनमाथि सरकारको दमनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको तत्काल राजीनामा माग गरेको छ।

रास्वपाले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा भ्रष्टाचार, कानूनी शासनको अवहेलना र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको परिस्थितिमा नवयुवाहरूले सुरु गरेको आन्दोलन शान्तिपूर्ण रहेको उल्लेख गरिएको छ। पार्टीले सुरुवाती चरणमै सरकारको तर्फबाट भएको गोली प्रहार र मृत्यु घटनाको निन्दा गर्दै उक्त घटनालाई ‘आमहत्याजस्तो गम्भीर’ भएको टिप्पणी गरेको छ।

advertisement

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको औचित्य समाप्त भइसकेको छ। प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्छ।’ साथै रास्वपाले घटनाको निश्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्रीसहित दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।

रास्वपाले नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्वमा रहेको संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दा समाधान गर्न असमर्थ भएको दाबी गर्दै ताजा जनादेशका लागि शीघ्र निर्वाचनको मागसमेत गरेको छ।

घटनामा मारिएका प्रदर्शनकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै रास्वपाले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि आग्रह गरेको छ। पार्टीले आगामी कदमबारे निर्णय गर्न सचिवालय बैठक चलिरहेको जनाएको छ।

 

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com