२०८२ साल भदौ २३ गते, नेपालको राजनीतिक इतिहासमा एउटा यस्तो कालो दिनको रूपमा अंकित भयो, जसले पुरै राष्ट्रलाई स्तब्ध र शोकाकुल बनायो। राजधानी काठमाडौदेखि प्रमुख सहरसम्म फैलिएको जेन जेड (Gen Z) पुस्ताको शान्तिपूर्ण आन्दोलनलाई सरकारले निर्ममता पूर्वक दमन गर्दा १९ जना होनहार युवाहरूले ज्यान गुमाए, जबकि सयौ आन्दोलनकारी घाइते भई अस्पतालमा छटपटाइरहेका छन्। यो कुनै सामान्य घटना थिएन, यो त सरकारको असंवेदनशीलता, नैतिक पतन र सत्ताको चरम उन्मादको एक दर्दनाक उदाहरण थियो।
देश भ्रष्टाचार, कुशासन, अन्याय र विकृतिले थिचिएको बेला उठेको यो जनआक्रोशलाई सम्बोधन गर्नुपर्ने साटो सरकारले गोली, अश्रुग्यास र लाठीको भाषा प्रयोग गर्यो। यो कदमले प्रमाणित गरिदियो – “जब सरकारले जनताको आँसु सुन्दैन, तब विद्रोहको आँधी आउँछ” भन्ने कटु सत्यमा आज पनि देश बाँधिएको छ। शासकले जनतालाई दबाउन सक्छन्, तर “उनीहरूको साहसलाई कहिल्यै मार्न सक्दैनन्”। “दमनको तरबारले सत्यलाई धेरै बेर लुकाउन सकिदैन, एक दिन त्यो जनताको आवाज बनेर बाहिर आउँछ”। किनकि, “अन्याय र दमनको पर्खाल जति अग्लो भए पनि, न्यायको एक मुठी हावाले त्यसलाई भत्काउन सक्छ”। “जनता रोइरहँदा पनि निर्धक्क हाँस्ने नेता” र “जनताको पीडालाई मजाक बनाउने शासक” यही घटनामा प्रष्ट देखिए।
दमनको मनोविज्ञान र सरकारको दोहोरो चरित्र
वास्तवमा यो सरकार त्यही हो, जसले “खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्नेहरू” जस्तै दोहोरो चरित्र देखाउँदै आएको छ। जब निर्दोष युवाको रगत सडकमा बगाइयो, त्यसबेला राज्य संयन्त्रको क्रूरता प्रष्ट देखियो। युवाहरूको माग बुझ्नुपर्ने नेतृत्व उल्टै “जनताको पसिनामा मस्ती गर्ने नेताहरू” जस्तै प्रकट भयो। गोली प्रहार, अश्रुग्यास र लाठीचार्ज मार्फत जनताको आवाजलाई निर्ममता पूर्वक कुल्चियो। यसरी इमानदार जनतालाई दमन गर्ने शासकहरू वास्तवमा “लुटेराको शासनमा इमानदार जनता” मात्र चाहन्छन्। सरकारले जनताको हितलाई आफ्नो पेवा बनाएर सत्ता रक्षाको खेल खेलिरहेको छ। यसैकारण यो देश आज “भ्रष्टाचारको दलदलमा फसेको देश” भइसकेको छ। यो घटनाले राज्य र जनता बीचको विश्वासको खाडललाई यति गहिरो बनाइदिएको छ कि अब त्यसलाई पुर्नु निकै कठिन हुनेछ।
सरकारले एकातर्फ लोकतन्त्रको कुरा गर्छ, अर्कोतर्फ जनताको आधारभूत अधिकार माथि नै प्रहार गर्छ। यो कदमले शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार माथि ठूलो प्रहार मात्र गरेन, बरु यसले देशका नेताहरू “कमिसनको भोकले देशलाई खानेहरू” नै हुन् भन्ने कुरा पनि प्रमाणित गरिदियो। उनीहरूले विकासका नाममा विनाशको व्यापार चलाएका छन्, जहाँ खोक्रो आश्वासनको खेती गरेर जनताको भविष्य साटिएको छ। सामान्य जनतालाई न्याय दिलाउने दायित्व बोकेका शासकहरू नै “सिन्को नभाँच्नेहरूले जनताको गाँस खोस्दैछन्” भन्ने चरित्रमा उत्रिएका छन्।
यो केवल एक दिनको घटना थिएन – यो त वर्षौदेखि जम्मा भएको कुशासन, अन्याय र भ्रष्टाचारको परिणाम थियो। युवाहरूले देखेको बेरोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा मौलाएको व्यापारिकरण र सरकारी सेवामा व्याप्त ढिला-सुस्ती तथा भ्रष्टाचारले उनीहरूको धैर्यको बाँध भत्काएको थियो। उनीहरूले परम्परागत राजनीतिक प्रणालीबाट कुनै आशा देखेका थिएनन्। उनीहरूको आन्दोलनले राजनीतिक दलहरूले दिएको धोका र आश्वासनको खोक्रोपनलाई उजागर गरेको थियो। त्यसैले, यो आन्दोलन कुनै तात्कालिक मुद्दामा मात्र सीमित थिएन, यो त प्रणालीगत परिवर्तनको माग थियो। “न्यायको लागि लड्नेको रगत बगे पनि, सत्यको जीत अवश्य हुन्छ” भन्ने कुरा आजको युवा पुस्ताले प्रमाणित गरिरहेको छ।
राजनीतिक वैधता माथि प्रश्न र नेतृत्वको दम्भ
राजनीतिक रूपमा यो दमनकारी कदमले सरकारको वैधता र नैतिक औचित्य माथि गम्भीर प्रश्न उठाएको छ। प्रधानमन्त्रीको दम्भपूर्ण अभिव्यक्ति – “अल्लारे केटाकेटीले कुरा बुझेका छैनन्” – ले परिस्थिति अझै बिगार्यो। यस्तो नेताले जनताको पीडा बुझ्ने अपेक्षा गर्नु व्यर्थ हुन्छ। वास्तवमा यस्ता नेताहरू “काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ” भन्दा फरक छैनन्। उनीहरूको शासन भनेको “झुठा आश्वासनको खेती गर्ने किसान” हो। चुनावमा मीठा भाषण गरेर जनतालाई भुल्ने, तर व्यवहारमा रित्तो हात जनतालाई छाड्ने परम्परा लामो समयदेखि चल्दै आएको छ। भाषणमा स्वर्ग देखाउने तर व्यवहारमा नर्क दिने नेताहरू “बोल्दा आदर्शवादी तर काममा स्वार्थी” कै प्रतीक हुन्। उनीहरूको बोली र व्यवहारमा कुनै तालमेल छैन।
आज नेपालमा यस्तो राजनीति मौलाएको छ, जसले “जनताको आँखामा छारो हाल्ने राजनीति” बाहेक केही दिएको छैन। नेताहरू कागजी बाघ बनेर गफको पोको बोकेर हिड्छन्। उनीहरू “बाजा बजाउने तर गीत नगाउने” जस्तै छन् – हल्ला धेरै, काम शून्य। हरेक चुनावी वाचामा “कुराले दश गजा पार गर्ने, कामले एक इन्च पनि नगर्ने” प्रवृत्ति देखिन्छ। जनतालाई छल्ने यी प्रवृत्तिहरू “मखमली चप्पल लगाउने, तर मनमा काँडा बोक्ने” जस्तै छन्। उनीहरू बाहिरबाट नरम देखिन्छन्, तर भित्रबाट कठोर र स्वार्थी छन्।
युवाहरूले देखेको सपना र नेताहरूको व्यवहार बीचको खाडल आज असीमित भइसकेको छ। पुराना नेताहरू सत्तामा पुगेपछि “जनताको रगत चुसेर मोटाउने जुकाहरू” बनेका छन्। उनीहरू सिंहदरबारमा बस्छन्, तर गाउँको दु:ख बुझ्दैनन्। उनीहरूको कानमा तेल छ, त्यसैले “जनताको आवाज नसुन्ने सरकार” मात्र देखिन्छ। “जनताको आँसु माथि हाँस्ने नेता” – अन्ततः यस्तो राजनीति “मुसोलाई बिरालोको जिम्मा दिएजस्तो” हो, जहाँ सुरक्षाको जिम्मा नै असुरक्षित हातमा सुम्पिइएको छ। युवा पुस्ताले देखेको समृद्ध नेपालको सपना र नेताहरूको स्वार्थले भरिएको कार्यशैली बीचको दूरी आकाश र पातालको जस्तै भएको छ। उनीहरूले नेताहरूलाई आफूहरूको भविष्यको मालिक नभई शत्रुको रूपमा हेर्न थालेका छन्। “जसले जनताको भावनालाई खेल ठान्छ, इतिहासले त्यसलाई सबक सिकाउँछ”।
प्रणालीगत सङ्कट र भविष्यको बाटो
राज्यको यो असफलता केवल नेताको व्यक्तिगत कमजोरी मात्र होइन, यो त सम्पूर्ण व्यवस्थाको सङ्कट हो। आलोपालो सरकार, भागबन्डा र भ्रष्टाचारको खेलले आजको नेपाललाई यो अवस्थामा पुर्याएको छ। हरेक निर्णयमा आफ्नै दुनो सोझ्याउने प्रवृत्तिले जनतालाई निराश बनाएको छ। नेताहरू “आफ्नो दुनो सोझ्याउने नेता, रित्तो हात जनता” भएका छन्। यो व्यवस्था त “राणा शासनलाई पनि माथ खुवाउने राजनीति” बन्न पुगेको छ। नेपालको राजनीति अहिले झूटा, स्वार्थी र विफल नेताहरूको कब्जामा छ। यिनीहरू “बाघको छाला ओढेर आउने स्यालहरू” हुन्। उनीहरूका काम भनेका गफमा मात्र सिमित तर व्यवहारमा केही नगर्ने गफ जस्ता छन् – “ढुङ्गामा फूल फुलाउने कुरा, काममा फुस्रो”। सरकार भित्रका धेरैजना “चोरको मुखमा झुटो, साधुको मुखमा पाप” भन्ने जस्ता पात्र हुन्। जब देश अन्धो राजाको हातमा पर्छ, तब जनता पनि बेइमान बन्न बाध्य हुन्छन् – “अन्धो राजा, बेइमान प्रजा”।
यस आन्दोलनले स्पष्ट सन्देश दिएको छ – नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनैपर्छ। पुराना नेताहरू समयको प्रवाह बुझ्न असक्षम छन्। उनीहरूको शासक मानसिकता “कालो रातको शासकहरू” भन्दा बढी केही छैन। उनीहरू जनताको समस्या समाधान गर्न नसक्ने तर प्रचारबाजीमा मात्र ध्यान दिने प्रवृत्तिका हुन्। अन्ततः यस्ता नेताहरू स्वाद नभएको खाना जस्ता छन्, जसको कुनै महत्व छैन – “नुन नलागेको तरकारी, कुनै काम नलाग्ने”। “जसको नियत खराब छ, उसको बाटो पनि खराब नै हुन्छ” भन्ने कुरा उनीहरूले प्रमाणित गरेका छन्।
अन्तमा, यस आन्दोलनमा ज्यान गुमाउने युवाहरू आज अमर शहीद बनेका छन्। उनीहरूको बलिदानले प्रष्ट सन्देश दिएको छ – अब पुरानो पुस्ताको झूट र भ्रष्टाचार सह्य छैन। यदि नयाँ पुस्ताको आवाजलाई अझै कुल्चियो भने “मृत सर्पले पनि टोक्छ” भन्ने सत्यता भुल्न हुदैन। आज देश एक निर्णायक मोडमा छ। यो रक्तरंजित अध्यायले देखाएको छ – भ्रष्टाचार, अन्याय र कुशासनको अन्त्य बिना मुलुकले प्रगति गर्न सक्दैन। अब समय आएको छ – जनताको रगतको न्याय दिलाउन, भ्रष्ट र अयोग्य नेताहरूलाई हटाउन र नयाँ पुस्तालाई नेतृत्व दिन। यदि यो सन्देश नबुझियो भने देश अझ अँध्यारो खाडलमा फस्नेछ। यो त्रासदीपूर्ण घटनाले नेपालको राजनीतिक भविष्यमा कस्तो प्रभाव पार्ला, त्यो त समयले नै बताउनेछ। “न्यायको ढोका बन्द हुँदा, क्रान्तिको बाटो खुल्छ” भन्ने कुरा यो घटनाले देखाएको छ।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया