काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रदेश अधिवेशनको तयारीलाई तीव्रता दिँदै पाँच प्रदेशका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ।
मंगलबार बसेको पार्टीको केन्द्रीय निर्वाचन आयोगको बैठकले अधिवेशनको समन्वय, सहजीकरण तथा प्रदेश निर्वाचन आयोग गठनको जिम्मेवारीसहित प्रतिनिधि खटाउने निर्णय गरेको हो।
रास्वपाका नवमनोनीत केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीको अध्यक्षतामा बसेको बैठकले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका लागि प्रतिनिधि चयन गरेको जनाएको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका लागि भने आगामी बैठकबाट जिम्मेवारी तोकिने बताइएको छ।
पार्टीले खटाइएका प्रतिनिधिहरूलाई सम्बन्धित प्रदेशका सभापतिसँग समन्वय गर्दै अधिवेशन तथा निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी अघि बढाउन निर्देशन दिएको छ।
प्रदेशगत जिम्मेवारी
- कोशी प्रदेश – नारायण प्याकुरेल
- मधेश प्रदेश – कुमार आनन्द मिश्र
- बागमती प्रदेश – सुमित्रा पण्डित
- गण्डकी प्रदेश – डा. राम गुरुङ
- लुम्बिनी प्रदेश – गोकुल सापकोटा
यसअघि सोमबार बसेको रास्वपा सचिवालय बैठकले भुवन केसीलाई केन्द्रीय निर्वाचन आयोग प्रमुखमा मनोनयन गरेको थियो।
त्यसलगत्तै आयोगको बैठक बसेर प्रदेशगत जिम्मेवारी बाँडफाँट गरिएको हो।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया