काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जेन–जेड आन्दोलनले उठाएका भ्रष्टाचार नियन्त्रण गर्ने माग सबै नेपालीको साझा मुद्दा भएको बताएका छन्। शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा उनले आन्दोलनका माग जायज भए पनि भदौ २३ र २४ गते मुलुकमा भएको विध्वंशको कारण र उद्देश्य पहिचान गर्न आवश्यक रहेको बताए।
पूर्वराष्ट्रपति यादवले भने, ‘युवाहरूको आन्दोलन भ्रष्टाचारको अन्त्य, पूर्ण अभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी शासन व्यवस्था अर्थात् ‘सुशासन’ जस्ता आधारभूत मागका लागि भएको थियो। यी माग हामी सबैका अभिष्ट हुन्। तर आन्दोलनको नाममा त्यस दिन र भोलिपल्ट मुलुकमा जुन विनाश र विध्वंश भयो, त्यसको कारण, उद्देश्य र जिम्मेवार व्यक्तिहरूको वास्तविकता पहिचान गर्नु आजको आवश्यकता हो।’
उनले २०६२/०६३ को जनआन्दोलन र नेपालको संविधान २०७२ द्वारा स्थापना गरिएको शासन–व्यवस्थालाई धुलिसात् पार्ने प्रयास भएको तथ्यप्रति सबैको ध्यानाकर्षण गर्नुपर्ने सुझाव दिएका छन्।
पूर्वराष्ट्रपति यादवले आह्वान गरे कि आन्दोलनपछि सिर्जित राजनीतिक–प्रशासनिक अन्योल अन्त्य गर्दै प्रत्येक नागरिकको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न तथा मुलुकलाई सुव्यवस्थातर्फ डोर्याउन जिम्मेवार निकाय र पदाधिकारीले ढिला गर्नु हुँदैन।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया