नेपालको वर्तमान राजनीतिक परिदृश्यलाई नजिकबाट नियाल्दा, सतहमा देखिने समस्याहरू भन्दा गहिरा र संरचनागत कमजोरीहरू स्पष्ट हुन्छन्। सत्ता संघर्ष, भ्रष्टाचार र अस्थिरताका यी बाह्य लक्षणहरू पछाडि हाम्रो शिक्षा प्रणाली, सामाजिक संस्कृति र नागरिक चेतनाको कमजोर जग लुकेको छ। यस लेखमा, नेपाली राजनीतिमा देखिएका मूल समस्याहरू, तिनका कारणहरू र समाधानका सम्भावित उपायहरू माथि विस्तृत विवेचना गरिएको छ। यी समस्याहरू कुनै एक व्यक्ति वा दलको मात्र नभएर सम्पूर्ण राज्य प्रणाली र समाजको संरचनागत त्रुटिको परिणाम हुन्। यसलाई सच्याउन तत्काल गरिने राजनीतिक सुधार मात्र पर्याप्त छैन, बरु समाजको गहिरो तहमा रहेको मानसिकता र मूल्यमान्यतामा नै परिवर्तन ल्याउनुपर्ने आवश्यकता छ।

शिक्षा र संस्कृतिको कमजोरी: मूल समस्याको जरो

advertisement

नेपालको राजनीतिक प्रणालीमा व्याप्त कमजोरीको सबै भन्दा ठूलो कारण शिक्षाको कमी र गलत दिशामा अघि बढेको हाम्रो संस्कृति हो। राजनैतिक दलका नेता, कार्यकर्ता, कर्मचारी र आम जनतामा राजनैतिक विचार, सिद्धान्त र आदर्शको गहिरो बुझाइ नै छैन। उनीहरूले आफूलाई “कम्युनिस्ट” वा “कांग्रेस” भन्दैमा त्यसको मूल मर्म र भावना बुझेका छैनन्। यो अवस्था तब आउँछ जब सैद्धान्तिक ज्ञान र व्यावहारिक चेतना बीचको खाडल फराकिलो हुन्छ। हाम्रो विद्यालय शिक्षाले नागरिकलाई कर्तव्यनिष्ठ, जिम्मेवार र देशभक्त बनाउन सकेको छैन। यसको परिणाम स्वरुप, हरेक व्यक्ति आफ्नो स्वार्थमा मात्र केन्द्रित हुन पुगेको छ।

यसको ज्वलन्त उदाहरण समाजको सोच र जीवनशैलीमा आएको परिवर्तन हो। जब एक व्यक्तिले गाउँको २० रोपनी उर्वर जमिन बेचेर काठमाडौमा ४ आनाको घडेरी किन्ने निर्णय गर्छ, तब उसले आफ्नो परिवार र समाजप्रतिको जिम्मेवारीलाई बेवास्ता गरेको हुन्छ। यो एउटा स्वार्थी र गैरजिम्मेवार जीवनको सुरुवात हो, जहाँ व्यक्तिगत सुख सुविधाका लागि दूरगामी सामाजिक मूल्यहरूलाई पन्छाउने संस्कृति विकसित हुन्छ। यस्तो मानसिकता भएको व्यक्ति पैसा वा सानो प्रलोभनका लागि कुनै पनि निर्णय लिन तयार हुन्छ, जसले अन्ततः राष्ट्रिय हितलाई नै खतरामा पार्छ। यसको समाधानका लागि कक्षा ४ देखि नै पाठ्यक्रममा जिम्मेवारी, देशभक्ति, राष्ट्रियता र राजनीति सम्बन्धी विषयहरूलाई राम्रोसँग समावेश गर्न जरुरी छ।

भ्रष्टाचारप्रतिको सम्मान र इमानदारिताको अपमान

वर्तमान समाजमा व्याप्त अर्को डर लाग्दो समस्या भनेको भ्रष्टाचारलाई सम्मान दिने र इमानदारितालाई उपेक्षा गर्ने संस्कृति हो। कुनै एक घरमा दुई दाजुभाइ छन्, जसमध्ये एक गाउँमा बसेर सामान्य पेसा वा व्यवसाय गरी इमानदार जीवन बिताउँछ। अर्को चाहि शहर पसेर राजनीति, दलाली वा भ्रष्टाचारबाट छोटो समयमा अकूत सम्पत्ति कमाउँछ। दुःखको कुरा, हाम्रो समाजमा इमानदारिता पूर्वक मेहनत गर्नेलाई भन्दा भ्रष्ट तर धनीलाई बढी इज्जत र सम्मान दिने चलन बढेको छ। यो संस्कृतिले समाजलाई खोक्रो बनाउँछ।

भ्रष्टाचारलाई सामूहिक बहिष्कार गर्ने शिक्षा बाल्यकाल देखि नै दिन जरुरी छ। जब सम्म भ्रष्टाचारीलाई सामाजिक रूपमा तिरस्कृत गरिदैन, तब सम्म यसको जरा काट्न सकिदैन। कक्षा ४ देखि नै यस्तो पाठ्यक्रम लागू गरिनु पर्छ जसले विद्यार्थीलाई मेहनतको मूल्य बुझाओस् र भ्रष्टाचारलाई घृणा गर्न सिकायोस्।

अधिकार र कर्तव्यको असन्तुलन: कमजोर हुदै लोकतन्त्र

आज विश्व भरि विभिन्न आन्दोलनहरू भइरहेका छन्। जापान, फ्रान्स, बेलायत वा नेपालको पछिल्लो आन्दोलनले के देखाउँछ भने लोकतन्त्र आफैमा कमजोर हुदै गएको छ। यसको मुख्य कारण अधिकार र कर्तव्य बीचको सन्तुलन गुम्नु हो। हामीले नागरिक अधिकार, मानव अधिकार र स्वतन्त्रताबारे अत्यधिक ज्ञान बाड्यौ। राजनैतिक दल, गैरसरकारी संस्था (NGOs/INGOs) र विद्यालयको पाठ्यक्रमबाट पनि यी कुराहरू सिकाइयो। तर, कसैले पनि नागरिकका जिम्मेवारी र कर्तव्यबारे सिकाएनन्। यो असन्तुलनले गर्दा हरेक व्यक्ति आफ्नो अधिकार मात्र खोज्ने, तर कर्तव्य पूरा नगर्ने प्रवृत्ति बढेको छ।

यसको परिणाम स्वरुप समाजमा एक प्रकारको “हकदार” मानसिकता (entitlement mentality) हावी भएको छ, जहाँ नागरिकले राज्यबाट सेवा र सुविधा मात्र अपेक्षा गर्छन् तर राज्यलाई बलियो बनाउन आफ्नो भूमिकाबारे सोच्दैनन्। जब सम्म नागरिकहरूले आफूलाई प्राप्त अधिकारसँगै आफ्नो जिम्मेवारी पनि बुझ्दैनन्, तब सम्म कुनै पनि व्यवस्था सफल हुन सक्दैन। लोकतन्त्रलाई बलियो बनाउन अधिकार र कर्तव्य दुवैको समान महत्त्वबारे शिक्षित गर्नु अपरिहार्य छ।

जनप्रियवादी (Populist) राजनीति र यसको खतरा

नेपालको राजनीतिमा अर्को प्रमुख समस्या जनप्रियवादी (populist) व्यक्ति र आन्दोलनहरूको उदय हो। यस्ता व्यक्ति वा समूहहरूले राज्यका कमजोरीहरूलाई चर्को स्वरमा उजगार गर्छन्, समस्यालाई बढाइ-चढाइ प्रस्तुत गर्छन्, तर तिनीहरूसँग समस्याको समाधान छैन। पछिल्लो समय नेपालमा भएको ‘Gen Z’ आन्दोलनले यही कुरालाई प्रस्ट पारिदिएको छ। उनीहरूसँग समस्या थियो, आक्रोश थियो, तर समाधानको कुनै स्पष्ट खाका थिएन।

समस्या देखाउनु मात्र जनप्रियवाद हो। समाधान दिन नसक्नु त्यसको कमजोरी हो। जब समाधान नभएको समस्यालाई बढाइ-चढाइ गरिन्छ, तब त्यो झन् खतरनाक हुन्छ। यस्ता आन्दोलनका नाराहरूले तत्काल जनताको ध्यान तान्न सक्छन्, तर दीर्घकालीन रूपमा यसले थप अन्योल र अस्थिरता सिर्जना गर्छ। यसैकारण, पछिल्लो आन्दोलनपछि पनि पुरानै पुस्ताका व्यक्तिहरूले सत्ताको जिम्मेवारी लिनुपर्ने अवस्था आएको हो।

राजनीति सेवा हो, पेसा होइन: अर्थतन्त्र र राजनीतिको सम्बन्ध

राजनीतिलाई सेवा नभई पेसा मान्ने प्रवृत्तिले नेपालको राजनीतिको चरित्र बिगारेको छ। यदि राजनीति सेवा हो भने, नेताहरूका लागि वैकल्पिक आम्दानीका स्रोतहरू हुनुपर्छ। नेपालको निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो छ। यसमा सहभागी हुनका लागि भ्रष्टाचार गर्नुको विकल्पै छैन। चुनावदेखि चुनावसम्मको चक्र कमाउ धन्दामा नै बित्छ। अनि उनीहरूले जनता र देशको बारेमा सोच्ने फुर्सद नै पाउँदैनन्।

यो कमजोरी नेताको मात्र नभई जनताको पनि हो। हामीले नेता छनौट गर्दा उनीहरूको शिक्षा, दृष्टिकोण र आर्थिक अवस्थालाई ध्यान दिनुपर्छ। वैकल्पिक आम्दानीको स्रोत भएको, आर्थिक रूपमा सबल र दूरदृष्टि भएका व्यक्तिले मात्र इमानदारी पूर्वक राजनीति गर्न सक्छन्। यसको उपचारका लागि महँगो निर्वाचन प्रणालीको सट्टा इलेक्ट्रोनिक भोटिङ प्रणाली (E-Voting) लागू गर्न सकिन्छ। यसले चुनाव खर्च घटाउँछ र भ्रष्टाचारको सम्भावना पनि कम गर्छ।

प्रणाली भन्दा नियतको समस्या: हब्स, लक र रुसोको दृष्टिकोण

हब्स, लक र रुसो जस्ता महान् राजनीतिक चिन्तकहरूको विचारलाई केलाउँदा एउटा कुरा प्रस्ट हुन्छ: राज्यको मुख्य उद्देश्य र जिम्मेवारी जनतालाई सुरक्षा, न्याय र स्वतन्त्रताको अनुभूति गराउनु हो। हब्सले जनताको सुरक्षाका लागि निरपेक्ष राजतन्त्र नै उत्तम विकल्प हो भनी तर्क गरे। उनका अनुसार, बलियो शासकले मात्र समाजमा अराजकता र द्वन्द्व रोक्न सक्छ। यता लकले भने व्यक्तिको प्राकृतिक अधिकारको रक्षा र स्वतन्त्रताका लागि लोकतान्त्रिक व्यवस्था नै सबै भन्दा प्रभावकारी हुने विश्वास राखे। उनले जनताको सहमतिबाट बनेको सरकारले मात्रै जनताको हितमा काम गर्छ भन्ने धारणा प्रस्तुत गरे। रुसोले भने यसलाई अझै विस्तार गर्दै “जनताको सामूहिक इच्छा” (General Will) को अवधारणा अघि सारे, जस अनुसार सबै नागरिकको समान सहभागिता र इच्छाले नै राज्य सञ्चालन हुनुपर्छ। यी तीनै विचारकको फरक दर्शन भए पनि उनीहरूको साझा लक्ष्य भनेको जनताको जीवनमा सुरक्षा, न्याय र स्वतन्त्रता सुनिश्चित गर्नु नै थियो।

यी चिन्तकहरूको विचारले आजको नेपाली राजनीतिमा देखिएको समस्यालाई पनि प्रस्ट पार्छ। नेपालमा लोकतान्त्रिक प्रणाली त छ तर यसलाई सञ्चालन गर्ने शासकहरूको नियत सही छैन। समस्या व्यवस्थामा होइन, बरु त्यसलाई चलाउने नेताहरूको इमानदारी, नैतिकता र समर्पणमा छ। जब शासकहरूको नियतमा खोट हुन्छ, तब उनीहरू जनताको सुरक्षा र हितलाई भन्दा आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिन्छन्। यसले गर्दा जनताले आफूलाई सुरक्षित र स्वतन्त्र महसुस गर्न पाउदैनन्, न त न्यायको अनुभूति नै गर्न सक्छन्। तसर्थ, नेपालको राजनीतिमा साँचो परिवर्तन ल्याउन प्रणाली वा व्यवस्था फेर्नु भन्दा त्यसलाई चलाउने मानिसहरूको नियत र आचरणमा सुधार ल्याउनु अत्यावश्यक छ।

आत्म-समीक्षाको अभाव र अबको मार्ग

पछिल्लो आन्दोलन पछि राजनीतिक दलहरू र तिनका नेताहरूले आफ्नो कमजोरी महसुस गरेर सुधार गर्लान् भन्ने आशा थियो तर, कतिपय नेताहरूको अभिव्यक्ति हेर्दा उनीहरूमा पश्चात्ताप भन्दा पनि बदलाको भावना बढी देखिन्छ। यसले देशलाई थप द्वन्द्वतर्फ लैजाने र ती दलहरू आफै समाप्त हुने निश्चित छ।

अबको मार्ग भनेको सुझ-बुझका साथ सामाजिक सद्भाव कायम गर्दै, सहमति र राष्ट्रिय मेलमिलापको नीति लिएर अघि बढ्नु हो। विगतका कमजोरीहरूलाई स्वीकार गरी सच्याउनु पहिलो आवश्यकता हो। दलहरूले आफूलाई सुधार गरी निर्वाचनको तयारीमा लाग्नुपर्छ। राज्यलाई आफ्नो अधिकार क्षेत्र मात्र ठान्नु हुदैन। राजनीति सेवा हो, जबरजस्ती अधिकार खोज्ने प्रयास गर्नु हुदैन।

अन्त्यमा, आज विश्वभरि लोकतन्त्रमा देखिएका कमजोरीलाई सुधार्दै, जनप्रियवादीहरूले समस्या देखाउने मात्र नभई समाधानको उपाय पनि प्रस्तुत गर्नुपर्छ। समाजका सबै पुस्ताले आ-आफ्नो जिम्मेवारी सही ढंगले बहन गर्नुपर्छ। शिक्षामा सुधार गरी सकारात्मक सांस्कृतिक परिवर्तन ल्याउनुपर्छ। हामीले पार्टी भन्दा माथि देश हो भन्ने भावनाले सोच्नुपर्ने दिन आएको छ। आन्तरिक असमझदारीको फाइदा उठाउन बाह्य शक्तिलाई कुनै अवसर दिनु हुदैन। विगतका कमजोरीहरू कुनै एक व्यक्ति वा निकायको मात्र नभई हामी सबैको हो भन्ने कुरा स्वीकार गर्दै, त्यसको सुधारका लागि पनि सबैको उत्तिनै भूमिका हुन्छ भन्ने कुरा आत्मसात् गर्नु जरुरी छ।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com