काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकार विस्तारको प्रक्रिया अघि बढाउँदै थप पाँच मन्त्रीको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएकी छन्। राष्ट्रपति पौडेलले उक्त नाम अनुमोदन गरेका छन्।
प्रधानमन्त्री कार्कीको सिफारिसअनुसार उद्योग मन्त्रालयको जिम्मेवारी सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले सम्हाल्नेछन् भने स्वास्थ्य मन्त्रालयमा मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्रलाई प्रस्ताव गरिएको छ।
त्यस्तै, राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक मदन परियारलाई कृषिमन्त्री र पत्रकार जगदीश खरेललाई सञ्चारमन्त्रीको जिम्मेवारी दिने प्रस्ताव छ। परियारले २०६८ सालमा १० प्रदेशको खाकासहितको प्रतिवेदन बुझाए पनि संविधान सभा विघटन भएपछि उक्त प्रतिवेदन कार्यान्वयनमा जान सकेको थिएन।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्वका लागि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनलाई सिफारिस गरिएको छ। पुन ग्रामीण क्षेत्रमा ताररहित इन्टरनेट सेवा पुर्याउने अग्रणी अभियन्ताका रूपमा परिचित छन्।
यसअघि नै प्रधानमन्त्री कार्कीले अर्थ मन्त्रालयमा रामेश्वर खनाल, ऊर्जामा कुलमान घिसिङ र गृहमन्त्रालयमा ओमप्रकाश अर्याललाई नियुक्त गरिसकेकी छन्।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया