काठमाडौं । जेन-जी आन्दोलनपछि देशका ठूला राजनीतिक दलभित्र नेतृत्व हस्तान्तरण र विशेष महाधिवेशनको बहस तीव्र बनेको छ।

नेकपा (माओवादी केन्द्र)ले आउँदो मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी थालेको बताइएको छ। पार्टी सचिव देवेन्द्र पौडेलका अनुसार सबै संरचना विघटन गरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा निर्वाचन कमिटी गठन गर्ने प्रस्तावमा छलफल भइरहेको छ।

advertisement

नेतृत्व हस्तान्तरणको दबाब नेपाली कांग्रेसमै पनि बढ्दै गएको छ। महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशनको माग गर्दै सभापति शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठाइरहेका छन्। हाल उपचाररत देउवा जेन-जी आन्दोलनको क्रममा आक्रमणमा परेर घाइते भएका थिए।

यता, कांग्रेस सभापतिकी पत्नी तथा सांसद डा. आरजु राणा देउवा पनि आन्दोलनकै क्रममा घाइते भई अस्पतालमा उपचाररत छिन्। स्रोतका अनुसार उनले अस्पतालमै रहँदै पार्टी नेताहरूसँग सम्पर्क बढाउँदै विशेष महाधिवेशनको माग तत्काल उठाउन नदिन आग्रह गरिरहेकी छन्।

कांग्रेस विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थनमा विशेष महाधिवेशन बोलाउन सकिन्छ। यही व्यवस्थालाई आधार बनाएर महामन्त्री शर्मा र थापाले दवाब बढाइरहेका छन्। नियमित महाधिवेशन भने २०८३ असारमा हुनुपर्ने प्रावधान छ। सभापतिलाई विशेष अवस्थामा दुई चरणमा एक वर्षसम्म म्याद थप गर्ने अधिकार पनि विधानले दिएको छ।

देउवा हाल दोस्रो कार्यकालमा छन् र विधानअनुसार तेस्रो कार्यकालमा उम्मेदवार बन्न सक्दैनन्। तर कार्यकाल एक वर्ष लम्ब्याउने तयारीमा रहेका उनलाई विशेष महाधिवेशनको मागले थप दबाबमा पारेको राजनीतिक विश्लेषकहरूको मत छ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com