काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यक्ष उपेन्द्र यादवविरुद्ध सामाजिक सञ्जालमार्फत टिप्पणी नगर्न कार्यकर्तालाई चेतावनी दिएको छ।
सोमबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव लालबाबु राउतले पार्टीभित्र शुद्धीकरण, सुदृढीकरण र अनुशासनलाई प्राथमिकतामा राखिने बताएका छन्।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘विगतमा जसपामाथि आन्तरिक तथा बाह्य दुवै तर्फबाट षड्यन्त्र, चलखेल र विखण्डन भएका छन्। ती घटनाबाट पाठ सिक्दै भविष्यमा हुने सम्भावित संकट रोक्न सबै सदस्य सचेत र चनाखो रहनुपर्छ।’
पार्टीको नीति, सिद्धान्त, विधान र कार्यपद्धति विपरीत गतिविधि गर्ने, गुटबन्दी बढाउने, पार्टी नेतृत्वविरुद्ध भ्रम फैलाउने वा सामाजिक सञ्जालमार्फत नकारात्मक प्रचार गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिइएको छ।
त्यस्तै, पार्टीविरुद्धका शक्ति वा व्यक्तिसँग मिलेमतो गर्ने, व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित हुने, अनावश्यक द्वन्द्व सिर्जना गर्ने प्रवृत्तिबाट पार्टीलाई जोगाउने प्रतिबद्धता विज्ञप्तिमा व्यक्त गरिएको छ।
बैठकले विचार, सिद्धान्त र मुद्दा मिल्ने दलहरूसँग एकता गर्ने र विचार नमिल्ने तर मुद्दा मिल्ने दलहरूसँग संयुक्त मोर्चा बनाएर अघि बढ्ने निर्णय पनि गरेको छ।
प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार













प्रतिक्रिया