काठमाडौं । नवनियुक्त चार मन्त्रीको शपथग्रहण कार्यक्रममा सभामुख देवराज घिमिरे पनि सहभागी भएका छन्।
संसद् विघटनपछि आयोजित पहिलो मन्त्रिपरिषद् विस्तारको शपथ समारोहमा अनुपस्थित रहेका सभामुख घिमिरे सोमबार भने शीतल निवास पुगेका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ ३० गते पहिलोपटक मन्त्रिपरिषद् विस्तार गर्दा कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई मन्त्री नियुक्त गरेकी थिइन्। त्यतिबेला सभामुख घिमिरे उपस्थित थिएनन्। तर, सोमबार राष्ट्रपति निवासमा आयोजित विशेष समारोहमा उनले सहभागिता जनाए।
समारोहमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल र विज्ञ मदन परियारले मन्त्री पदको शपथ लिए।
सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खरेलले सञ्चार तथा सूचना मन्त्रालय र परियारले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
भदौ २७ गते प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अहिले मन्त्रिपरिषद् आठ सदस्यीय बनेको छ।
प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार













प्रतिक्रिया