काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी कमिटीको बैठक नबोलाउने भएका छन् । अध्यक्ष ओली हाल पदाधिकारी तहका नेतासँग वान–टु–वान छलफलमा व्यस्त रहेका छन् र ती छलफल पूरा भएपछि मात्र पार्टी बैठक बोलाइने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।
अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव पदमा रहेका अर्याललगायतसँग व्यक्तिगत छलफल गरिसकेका छन्। गौतमका अनुसार, ‘अध्यक्षले अहिले वान–टु–वान छलफल गरिरहनुभएको छ। सबैको सहमति भएपछि सचिवालय बैठक बसेर पार्टीको धारणा सार्वजनिक गरिनेछ।’
पार्टी कमिटीको बैठक दशैँअघि वा पछि बोलाइने निश्चित नभएको उनले बताए। भदौ २३ र २४ मा भएको जेन–जि आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थिति परिवर्तन भएको छ। आन्दोलनपछि गैरदलीय सरकार गठन, प्रतिनिधि सभा विघटन र फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ। प्रमुख राजनीतिक दलहरूले संसद् विघटनलाई गैरसंवैधानिक भन्दै आलोचना गरेका छन्।
नयाँ राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस, माओवादी र रास्वपा जस्ता दलहरूले पार्टी कमिटी बैठक बोलाइसके पनि एमालेले अहिलेसम्म बैठक बोलाउन सकेको छैन।
जेन–जि आन्दोलनका क्रममा अध्यक्ष ओलीको निजी घरमा आगजनी भएपछि उनी भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन्। भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका ओली त्यतिबाट करिब एक साता नेपाली सेनाको सुरक्षामा बस्न बाध्य भएका थिए।
आन्दोलनपछि एमालेभित्र पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनबारे चर्को बहस भइरहेको छ। तर अध्यक्ष ओलीले त्यो बहसलाई अहिलेसम्म स्विकार्न तयार छैनन्। नेताहरूको बुझाइ अनुसार यही कारणले उनले पदाधिकारीसँग पहिला व्यक्तिगत छलफललाई प्राथमिकता दिएका हुन्।
प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया