काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा कार्यबाहक अध्यक्षको जिम्मेवारी पाउनुपर्ने माग गरेका छन्। उपमहासचिव जनार्दन शर्माका अनुसार गत आइतबार बसेको पदाधिकारी बैठकमै श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने धारणा राखेका हुन्।
शर्माले जानकारी दिँदै भने, ‘मंसिरमा महाधिवेशन गर्न लागिएको छ, अब दुई महिनाको मात्र कुरा हो। वरिष्ठ नेता नारायणकाजीले मलाई कार्यबाहक अध्यक्ष दिनुपर्छ भनेर बैठकमा माग गर्नुभयो। मैले त प्रचण्डलाई भनेँ, दुई महिनाको लागि हो भने दिनुहोस् न, यसले केही बिग्रँदैन।’
उनका अनुसार, श्रेष्ठले महाधिवेशनसम्म पार्टीको नेतृत्व कार्यबाहक अध्यक्षका रूपमा सम्हाल्ने र त्यसपछि प्रचण्डसहित वर्तमान पदाधिकारी निर्देशन समितिमा मात्र रहने प्रस्ताव गरेका छन्। उनले मंसिरमा हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने र यसो गर्दा पार्टीको साख अझै मजबुत हुने विश्वास व्यक्त गरेका छन्।
उपमहासचिव शर्माले पार्टीले महाधिवेशनको मिति तोक्नु मात्र पर्याप्त नहुने उल्लेख गर्दै कार्यकर्तालाई स्वतन्त्र ढंगले नेतृत्व रोज्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। उनका अनुसार, नयाँ विचार ल्याउने र नयाँ पुस्ताको नेतृत्व अगाडि बढाउने अवसर दिन सके पार्टी थप सुदृढ हुने विश्वास छ।
प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया