काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका आयोजना सुनकोसी–मरिण र भेरी–बबई बहुउद्देश्यीय आयोजना हालको अवस्थामै अघि बढाउन नसकिने स्पष्ट पारेका छन्।
मङ्गलबार मन्त्रालयमा सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग गरिएको छलफलमा मन्त्री घिसिङले ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अघि बढ्नुको विकल्प नरहेको बताएका हुन्।
उनका अनुसार, दुवै आयोजनाको निर्माणमा अस्वाभाविक ढिलाइ भइरहेको छ, जसका कारण तराई–मधेसमा पुग्ने सिँचाइ र कृषिजन्य उत्पादकत्व वृद्धि गर्ने लक्ष्य प्रभावित भएको छ। उनले राज्यले अर्बौं रुपैयाँ लगानी गरिसकेको र ब्याज मात्रको हिसाबले पनि अर्बौं खर्च भइसकेको भन्दै यसरी ढिलाइ हुनु अस्वीकार्य भएको बताए।
मन्त्री घिसिङले भने, ‘सुरुङ निर्माण सकिए पनि बाँध र विद्युत्गृहजस्ता संरचना बन्न सकेका छैनन्। तराईमा सिँचाइको चर्को आवश्यकता छ, तर काम गर्ने नियत नै देखिँदैन। यस्तो अवस्थामा म्याद थपेर बस्न कुनै औचित्य छैन, ठेक्का तोडी नयाँ बाटो रोज्नुपर्छ।’
भेरी–बबई आयोजनाको सुरुङ २०७७ भदौमै बने पनि बाँध र विद्युत्गृहको निर्माण सुस्त छ। गण्डोङ युतियान–रमण जेभीसँग २०७६ साउनमा सम्झौता भए पनि भौतिक प्रगति ५७ प्रतिशत मात्र पुगेको छ। यस्तै, सुनकोसी–मरिण आयोजनामा भने बाँध र विद्युत्गृह निर्माणको प्रगति १० प्रतिशतमा सीमित छ, जबकि ठेक्का अवधिको करिब ६० प्रतिशत समय बितिसकेको छ। यो आयोजना पटेल–रमण जेभीले निर्माण गर्दै आएको हो।
मन्त्री घिसिङले आयोजनामा ढिलाइ गर्ने प्रवृत्ति तत्काल अन्त्य गरी ठेक्का र प्रक्रिया दुवैलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया